सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपमहानगर भन्छ, अपाङ्गता भएका व्यक्तिलाई खोजीखोजी सहयोग गर्छौँ

धनगढीका ९१ अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री हस्तान्तरण

२०७९ माघ १०, ११:२५ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहयोगी सामग्री उपलब्ध गराएको छ। अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण गर्न चार ठाउँमा शिविर सञ्चालन गरेर २८४ जनाको पहिचान गरिएको छ। तर, शिविरका दौरान ९१ जना शारीरिक अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री हस्तान्तरण गरिएको छ। बाँकी १९३ जनालाई सहायक सममग्री तयार गर्न लगाएर वितरण गरिने उपमहानरपालिकाले जनाएको छ।

यस्तै, शिविरमा आउन छुटेका अन्य व्यक्तिहरूलाई खोजीखोजी सहयोग गर्ने उपमहानगरको योजना छ। धनगढी उपमहानगरपालिकाले गत माघ ३ गते फूलबारीमा अपाङ्गता सहायक सामग्री परीक्षण शिविर सञ्चालन गरेको थियो। यस्तै, माघ ५ गते उर्मा र ६ गते जुगेडा सहरी स्वास्थ्य केन्द्रमा शिविर राखिएको थियो।

सोमवार धनगढी उपमहानगरपालिका परिसरमा अपाङ्गता सहायक सामग्री परीक्षण शिविर राखिएको हो। चार दिन उपमहानगरले राखेको शिविरमा अपाङ्गता भएका नागरिकलाई सहयोगी सामग्री वितरण गरिएको छ भने कम्पनीबाट बनाएर ल्याउनुपर्ने सामग्री आवश्यक हुने व्यक्तिको नाप लिने काम भएको छ। धनगढी उपमहानगरपालिकाका विशेषज्ञ वडा क्लिनिक फोकल पर्सन कृष्णबहादुर बोहराले चार दिन उपमहानगरले सञ्चालन गरेको शिविरमा २ सय ८४ जना अपाङ्गता भएका व्यक्तिले अहिलेसम्म सरकारबाट कुनै सहयोगी सामग्री नपाएको बताए।

‘उपमहानगरपालिकाले चार क्लस्टरमा शिविर सञ्चालन गरेको थियो,’ उनले भने, ‘फूलबारीमा ५५ जना, उर्मामा ७२ जना, जुगेडामा ५२ र उपमहानगरपालिका परिसरमा गरिएको परीक्षणमा ६९ जनालाई सहायक सामग्री आवश्यक रहेको थाहा भएको छ।’ उनले अगाडि थपे, ‘शिविरको दौरान ९१ जनालाई सामग्री हस्तान्तरण गरिएको छ भने बाँकी एक ९३ जनालाई सामग्री तयार गर्न लगाएर हस्तान्तरण गरिने छ।’

 

धनगढी उपमहानगरपालिकाले यो वर्ष स्वास्थ्य क्षेत्रमा केन्द्रित भएर विभिन्न काम गरेको उपमहानगरले जनाएको छ। यो वर्ष अपाङ्गता भएका व्यक्तिहरूलाई खोजीखोजी सहायक सामग्री प्रदान गरेर आत्मसम्मानको जीवन बाच्न सहयोग गर्न उपमहागरले विभिन्न स्थानमा अपाङ्गता शिविर चलाएर आवश्यकता पहिचान गरेको वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले बताए।

‘उपमहानगरले साउनदेखि विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएको छ,’ उनले भने, ‘यो वर्ष स्वास्थ्यमा काम गर्ने वर्षका रुपमा काम गर्ने योजनाका साथ अपाङ्गता भएका व्यक्तिहरूलाई पनि सहायक सामग्री वितरण गरिएको हो।’ धनगढी उपमहानगरपालिकाले यो वर्ष स्वास्थ्य क्षेत्रमा सुधार गर्ने वर्षका रुपमा काम गर्ने नीति लिएको छ।

साउन १ बाट हरेक वडामा विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्दै आएको उपमहानगरपालिकाले क्यान्सर स्क्रिनिङ, आमा सुरक्षा कार्यक्रमअन्तर्गत सबै वडामा निःशुल्क एम्बुलेन्स सेवा विस्तार र जेष्ठ नागरिकलाई नीजि अस्पतालमा ओपिडी जाँच शुल्क निःशुल्क गरेको छ। अझै स्वास्थ्य सेवाका अन्य शिविर सञ्चालन पनि गर्ने अपाङ्गता सहायक सामग्री परीक्षण शिविरमा आउन छुटेका नागरिकलाई खोजोखोजी सहयोगी सामग्री प्रदान गर्ने नगरप्रमुख गोपाल हमालले बताए।

‘यो वर्ष स्वास्थ्य सेवाको पहुँचमा ग्रामीण क्षेत्रमा विपन्न नागरिकलाई ल्याउने उपमहानगरको लक्ष्य हो,’ उनले भने, ‘त्यसैले कहीँ कतै पहुँच नभएका अपाङ्गता भएका व्यक्तिलाई जीवनयापन गर्न सहज होस् भनेर सहायक सामग्री वितरण गर्दै छौँ, हामीले अहिलेसम्म कहीँबाट सहयोग नपाएका व्यक्तिलाई जे कुराको आवश्यकता छ उपलब्ध गराउने नीति लिएका छौँ।’ ’कृत्रिम हातखुट्टा बनाउनु पर्नेलाई त्यो पनि सहयोग गर्छौँ,’ नगरप्रमुख हमालले भने।

धनगढी उपमहानगरपालिकाले नेपाल राष्ट्रिय समाज कल्याण संघको प्राविधिक सहयोगमा शारीरिक अपाङ्गता भएका नागरिकलाई शिविर सञ्चालन गरेर सहायक सामग्री वितरण गरेको हो। शिविरमा बैशाखी, छडी, वाकर, ह्विल चेयरलगायतका सामग्री वितरण गरिएको छ भने कृत्रिम हातखुट्टा बनाउनुपर्ने व्यक्तिको हातखुट्टाको नाप लिने र सामग्री बनाउन लगाएर प्रदान गरिने छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस