सुदूरपश्चिममा नबिल एसएसई कार्यक्रमको समापन
धनगढीः नबिल बैंकले यस वर्षदेखि सञ्चालन गरेको गैरनाफामुलुक कार्यक्रम नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रमको पहिलो संस्करण पुरा भएको छ। सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज)सँगको सहकार्यमा नबिल एसएसईका प्रविणतापत्र कक्षाको पहिलो संस्करण सोमबार पुरा भएको हो।
कार्यक्रमबाट दीक्षित २२ जनालाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। प्रमाणपत्र वितरण गर्दै मेयर हमालले धनगढीका युवाहरुलाई उद्यमशिल बनाउँने नबिल बैंक र एसपीए कलेजले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।
‘युवाहरुलाई व्यापार–व्यवसाय उद्यममा लगाउन सकियो भने समाज र राष्ट्रको विकास आफै हुन्छ,’ हमालले भने, ‘धनगढीमा एसपीए कलेजसँगको सहकार्यमा नबिल बैंकले गरेको प्रयास सह्रानीय छ।’ नबिल बैंक सुदूरपश्चिम प्रदेश प्रमुख टेकराज भट्टले २२ जना उद्यमीलाई पहिलो कार्यक्रममार्फत विकास गर्न पाएकोमा खुशी व्यक्त गरे। उनले पहिलो ब्याचका विद्यार्थीलाई लिडरसिप ग्रुम गरेको र उनीहरु ढुक्कसँग व्यवसाय गर्न सक्ने अवस्थामा पुगेको बताए।
एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले दीक्षित सहभागीहरुलाई बधाई दिदैँ सहभागीमध्ये उत्कृष्ट उद्यमशिल आइडियालाई एसपीए कलेजले लगानी गर्ने बताए। कार्यक्रम संयोजक प्रेमराज जोशीले कार्यक्रम सफल भएको बताए। यो कार्यक्रमका लागि नबिल बैंकले नेपालका सातवटै प्रदेशका विभिन्न सातवटा कलेजहरुसँग साझेदारी गरेको छ।