कैलालीका स्थानीय तहको पूर्ण खोप सुनिश्चित गर्ने प्रतिबद्धता
धनगढीः कैलालीका स्थानीय तहले आफ्नो पालिकालाई पूर्ण खोप सुनिश्चित गर्ने प्रतिबद्धता गरेका छन्। आइतवार धनगढीमा आयोजित जिल्ला स्तरीय पूर्ण खोप कार्यक्रमको समिक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रबर्धन कार्यक्रममा धनगढीका १३ वटै पालिकाले पूर्ण खोप सुनिश्चित गर्ने प्रतिबद्धता गरेका हुन्।
सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय धनगढी कैलालीले आयोजना गरेको कार्यक्रममा कैलालीका १३ वटै पालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय प्रमुख र स्वास्थ्य शाखा प्रमुखहरूको उपस्थिति रहेको कार्यक्रमा दिगो विकासका लक्ष्य हासिल गर्दै सन् २०३० मा अल्पविकसित देशबाट नेपालललाई विकासशील देशमा स्तरोन्नति गर्न खोप कार्यक्रमका माध्यमबाट नागरिकको स्वास्थ्य सुरक्षाको प्रत्याभूति गरिनुपर्नेमा जोड दिइएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका परिवार कल्याण महाशाखा प्रमुख भरत भण्डारीले कार्यक्रममा प्रस्तुति राखेका थिए। सन् २०३० सम्म दीगो विकासका लक्ष्य हासिल गर्न सरकारले सबै बाललबालिकालाई खोप लगाएर सरुवा तथा अन्य रोलाग्न दिनबाट सुरक्षित राख्नुपर्ने बताउँदै भण्डारीले पूर्ण खोप सुनिश्चितताका लागि स्थानीय पालिकाले प्रतिबद्ध भएर नतिजा देखाउने गरि काम गर्नुपर्ने बताए। कार्यक्रममा कैलालीमा १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखको उपस्थिति थियो।
कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफ्नो गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सबै प्रयास गरिने बताए। उनले सरकारले उपलब्ध गराउने खोप लगाएको-नलगाएको बारे सुक्ष्म अनुगमन गर्न स्वास्थ्य स्वयंसेविका, स्वस्थ्य शाखाकमा कर्मचारी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई अनुगमन गर्न लगाउने बताए।
जानकी गाउँपालिकाका उपाध्यक्ष लालमतीदेवी कठरियाले खोपले बालबालिकालाई रोगको संक्रमणबाट जोगाएर सबल नागरिक हुन सहयोग गर्ने भएकाले आफ्नो गाउँपालिका क्षेत्रका सबै बालबालिकाले खोप पाइरहेको र सरकारले उपलब्ध गराउने सबै प्रकारका खोप सतप्रतिशत लागउने काम भइरहेको बताए। उनले कही कतै खोप पाउनबाट छुटेको भए खोजी गरेर पनि खोप लगाउने प्रतिबद्धता जनाए।
कार्यक्रममा लम्की चुहा नगरपालिकाका प्रमुख सुशिला शाहीले सबै समुदायमा खोपको महत्व बुझाएर राष्ट्रिय लक्ष्य हासिल गर्न स्थानीय तहहरू काम गरिरहेको बताए। उनले खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाउन नगरपालिकाले काम गर्दै आएको र आगामी दिनमा पनि काम गर्ने बताए। यस्तै, गौरीगङ्गा नगरपालिकाका प्रमुख देवीदत्त कँडेल पूर्ण खोप सुनिश्चितता घोषणा गर्न प्रतिबद्धता जनाए।
कार्यक्रममा पालिकाहरूले सम्पूर्ण बालबालिकालाई पूर्ण खोप लगाउने नेपाल सरकारको योजना र लक्ष्यलाई पूरा गर्न स्थानीय तहले गर्नुपर्ने सबै कार्य गर्न तयार रहेको बताएका थिए।