डाक्टर सन्दुक रुइतलाई बहराइनको इसा अवार्ड
काठमाडौं: आँखासम्बन्धी वरिष्ठ डाक्टर सन्दुक रुइतले बहराइन सरकारले दिने प्रतिष्ठित इसा अवार्ड पाएका छन्। बहराइन सरकारले दिने पुरस्कार इसा अन्तर्गत मानवीय सेवाका लागि डाक्टर रुइत यस पटक विजेता बनेका हुन्।
बहराइन सरकारले हरेक दुई वर्षमा प्रदान गर्ने यो अवार्ड विपद् रोकथाम, राहत, शिक्षा, मानव सेवालगायतका ११ वटा विधामा प्रदान गरिन्छ। यो अवार्डको स्वर्ण विजेताले १० लाख अमेरिकी डलर अर्थात् १३ करोड रुपैयाँ प्राप्त गर्दछन्। अवार्डसँगै डाक्टर रुइतले १३ करोड रुपैयाँ प्राप्त गरेका छन्।
डाक्टर रुइतले नेपालसहित विश्वका विभिन्न देशका एक लाख ८० हजार जनाभन्दा धेरैको शल्यक्रिया गरेर आँखाको ज्योति दिन सफल भएका छन्। बोर्ड अफ ट्रस्टिजका अध्यक्ष मोहम्मद बिन मुबारक अल खालिफाले यस पटक अवार्डका लागि एक सय ३९ वटा मनोनयन परेको जानकारी दिए।
यस्तै मानवताका लागि इसा अवार्डका महासचिव अलि अब्दुल्लाह खालिफाले डाक्टर रुइतले मोतियाविन्दुको उपचारमा अकल्पनीय योगदान दिएको उल्लेख गर्दै उनको सक्रियता नभएको भए हजारौँले दृष्टि नपाउने बताएका छन्।