कञ्चनपुरको कृष्णपुरमा ’नागरिकसँग मेयर कार्यक्रम’ सुरु
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकामा स्वास्थ्य सम्बन्धि कार्यक्रम “नागरिकसँग मेयर“ को शुभारम्भ गरिएको छ। मंगलवार नगरप्रमुख हेमराज ओझाले वडा न ५ को पवित्रा बस्तीबाट र नगरका अन्य वडाबाट सम्बन्धित वडाका अध्यक्षहरुको उपस्थितिमा एकसाथ कार्यक्रम सुरू गरिएको हो।
नागरिकसँग ’मेयर कार्यक्रम’ को उद्घाटनपछि नगरप्रमुख हेमराज ओझाले कृष्णपुर नगरपालिकामा बसोबास गर्ने प्रत्येक नागरिकको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मीको टिमसहित घरदैलोमा पुग्न चाहेको बताए। उनले आफूले निर्वाचन भएदेखि नै शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने योजनाअनुरुप नै यो कार्यक्रम सुरूवात गरिएकोले नागरिकले यसको फाइदा लिन सक्नुपर्ने बताए।
'विकास निर्माणका कामहरु सिलसिलाबद्ध रूपमा अगाडि बढ्दै जान्छन् केही दिन ढिला सुरु भए पनि खासै फरक पर्दैन, तर नागरिकको स्वास्थ्य गम्भीर विषय भएकोले आफ्नो कार्यकालभरी पहिलो प्राथमिकता स्वास्थ्यले पाउनेछ।’ नगरप्रमुख ओझाले बताए।
'नागरिकसँग मेयर’ कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीले ९ वटै वडाका प्रत्येक नागरिकका घर–घरमा पुगेर रक्तचाप चेकजाँच गर्ने, नागरिकको थप स्वास्थ्य अवस्था बुझ्ने र स्वास्थ्यकर्मीको रिपोर्टको आधारमा दोश्रो चरणमा स्वास्थ्य शिविर सञ्चालनमा ल्याइने नगरप्रमुख ओझाले बताएका छन्।
दक्ष जनशक्ति सहितको स्वास्थ्यकर्मीको टोली प्रत्येक नागरिकको घर–घरमा पुग्ने भएकाले यो कार्यक्रम नागरिकका लागि अत्यन्तै फलदायी हुने कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतनसिंह विष्टले बताए। सुरुवातमा ’नागरिकसँग मेयर’ कार्यक्रमका लागि १५ दिन छुट्याइए पनि आवश्यकताअनुसार केही दिन थप्न सकिने विष्टले बताए।
हाल कृष्णपुर नगरपालिका वडा न ५ मा रहेको कृष्णपुर स्वास्थ्य चौकी चिकित्सकसहित चौबिसैं घण्टा सञ्चालनमा रहेको छ। त्यसैगरी, नगरपालिकाले सुत्केरी महिला, जेष्ठ नागरिक, शारीरिक रूपमा अशक्त नागरिक र आर्थिक हिसाबमा कमजोर विरामीलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको छ।
यस्तै, कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले धनगढी रक्त सञ्चार केन्द्रसँग समन्वय गर्दै नगरका नागरिकलाई रगत आवश्यक परे नगरपालिकाको परिचय खुल्ने कागज उपलब्ध गराएर निःशुल्क रगत पाउने व्यवस्थासमेत मिलाएको बताएका छन्।