कैलालीमा सरकारी गाडीको दुरुपयोग, भन्सारका हाकिम नै तस्करीमा
धनगढीः शनिबार भारतको सीमावर्ती बजार सुडाबाट धनगढी–१२ जुगेडामा सामान तस्करी भइरहेको थियो। दिउँसो सरकारी सेतो नम्बरको मोटरसाइकलमा प्लाष्टिकका कुर्सीले छोपेर सामान ल्याउन लागेको भिडियोमा देख्न सकिन्छ।
सुडाबाट प्रदेश नम्बर ३ ०२ ००१ ब ०५१३ नम्बरको मोटरसाइकलमा तस्करी भइरहेको थियो। सुडामा रहेको आफन्तको घरबाट फर्किन लागेका कञ्चनपुर घर भएका दुई युवाले उक्त भिडियो कैद गरेका थिए। जुगेडा क्षेत्रमा भारतबाट दिनहुँ तस्करी हुने गरेको स्थानीयले बताएका छन्।
तस्करीको सामान ल्याउन तस्करहरूले जुगेडा बङ्रगाकटान र फूलवारी क्षेत्रका बाटाहरू प्रयोग गर्ने गरेका छन्। कैलालीमा अवैध तरिकाले सामान ल्याउन सरकारी गाडी नै प्रयोग हुन थालेको छ। सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको मिलोमतोमा तस्करी मौलाएको एक स्थानीयको दाबी छ। ‘सीमा क्षेत्रमा सशस्त्र प्रहरी छ, नेपाल प्रहरी पनि छ तर तस्करहरूले निर्वाध सामान ल्याउने गरेका छन्। प्रशासन के हेरेर बसेको छ त्यो बुझ्न सकिएको छैन।’ नाम नबताउने सर्तमा ती स्थानीयले भने।
धनगढी उप-महानगरपालिकासँग जोडिएका भारतीय बजारबाट हरेक दिन तस्करी हुने गरेको स्थानीयको गुनासो छ। तस्करहरूले सीमावर्ती बजारबाट लागु औषधसमेत नेपाल भित्र्याउने गरेका छन्।
यस्तै सरकारले भन्सार छली रोक्न खटाइएका कर्मचारीले पनि अवैध सामान भित्र्याउने गरेको तथ्य फेला परेको छ। सत्ती भन्सार कार्यालय खक्रौलाका प्रमुख विमलकुमार साहले भारतीय बजारबाट भन्सार छलेर चारवटा एसी ल्याएका थिए। शनिबार भन्सार छलेर सामान ल्याएका प्रमुख साह भने अहिले सम्पर्क विहिन छन्।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले भने साहसँग कुरा बुझ्न सम्पर्क गर्न खोज्दा हुन नसकेको बताएका छन्। ‘भन्सार कार्यालयका प्रमुखसँग सम्पर्क हुन सकेन। एक जना सुव्बा साबले उजुरी पनि दिनुभएको छ,’ उनले भने, ‘सत्यतथ्य बुझ्नुपर्ने हुन्छ। सफाइको मौका पनि दिनुपर्छ। त्यसपछि सत्यत्थ्य थाहा हुन्छ।’
कैलालीमा भारतसँग जोडिएको एक सय एक किलोमिटर क्षेत्रका सयौं ठाउँबाट तस्करी हुने गरेको छ। तस्करहरू साँझ ९ बजेदेखि राति १२ बजे र विहान ४ बजे देखि ७ बजेको समयमा बढी सक्रिय हुने गरेको पाइएको छ। सीमा क्षेत्रमा तस्करी रोक्न सशस्त्र प्रहरीका पोष्ट खडा गरिएका भए पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको मिलेमतोमा तस्करहरूले सुरक्षित बाटो प्रयोग गर्ने गरेका छन्।
तस्कले प्रयोग गर्ने बाटोमा प्रहरीले गस्ती नै गर्दैनन्। भदौयता तस्करीमा व्यापक वृद्धि भइरहेको सीमा क्षेत्रका बासीन्दा बताउँछन्।
तर, चालु आर्थिक वर्षको ५ महिनाको तथ्यांक हेर्दा कैलाली भन्सार कार्यालयमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार गस्तीबाट एक सय ८२ मुद्दा दर्ता भएका छन्। जसबाट एक करोड १७ लाख ८० हजार मूल्य बराबरको सामान बरामद भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए। ‘चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म कैलाली भन्सार कार्यालयमा भन्सार चोरी पैठारीका एक सय ८२ मुद्दा परेका छन्,’ उनले भने, ‘सशस्त्र प्रहरीबाट एक सय ३४, नेपाल प्रहरीबाट २० र भन्सार गस्तीबाट २० मुद्दा दर्ता भएका छन्। १ करोड १९ लाख ८० हजार २२७ मूल्य बराबरको सामान बरामद भएको छ।’
भन्सार छलीका घटनामा सरकारी गाडी र कर्मचारीको संलग्नाले राजश्व चुहावट बढ्दै गएको सरोकारवाला बताउँछन्।