सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा नेपाल–भारत जीर्ण सीमा स्तम्भ मर्मत संभारको कार्य हुँदै  

२०७९ पुष ८, ११:०९

कञ्चनपुरः नेपाल–भारत जीर्ण सीमा स्तम्भ मर्मतको कार्य अगाडि बढाइएको छ। भारतीय सीमा सुरक्षा बल(एसएसबी)को ५७औँं बटालियनले सशस्त्र प्रहरी बल नेपालको समन्वयमा जीर्ण अवस्थामा रहेका सीमा स्तम्भ मर्मत संभारको कार्य अगाडि बढाएको हो। 

भारतीय पक्षले जोर नम्बरका २४ जीर्ण अवस्थाका सीमा स्तम्भ मर्मतको कार्य गरिरहेको छ। नेपाल–भारत संयुक्त सीमा बैठकको निर्णयानुसार नेपालले बिजोर र भारतीयले जोर नम्बरका सीमा स्तम्भ मर्मत गर्ने निर्णय गरिएबमोजिम एक साता अघिदेखि सीमा स्तम्भ मर्मतको कार्य भइरहेको छ। 

सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐरका अनुसार विओपी कञ्जभोज अन्र्तगतपर्ने सीमा स्तम्भ नं ७९८, ७९६÷१, ७९६÷२, ७९६÷३ तथा विओपी देविस्थानअन्तर्गत पर्ने सीमा स्तम्भ नं ८००, ८००/१, ८००/२, ८००/३ भारतीय एसएसबीले मर्मत गरेको छ।

विओपी भूमिराजअन्तर्गत पर्ने सीमा स्तम्भ नं ८०२, ८०२/१, ८०२/२, विओपी गड्डाचौकीअन्र्तगत पर्ने सीमा स्तम्भ नं८०६, ८०६/१, ८०६/४, ८०६/५, ८०६/६, ८०६/२, विओपी जीमुवा अन्तर्गतपर्ने सीमा स्तम्भ नं ८०८, ८०८/१, विओपी ब्रम्हदेवअन्तर्गत पर्ने सीमा स्तम्भ नं ८१२/१, ८१०/१, ८१०, ८१२ र विओपी वयलबन्दअन्तर्गत पर्ने सीमा स्तम्भ नं ८०४ को मर्मतको कार्य जारी रहेको छ।

नेपाली पक्षले दुई वर्षअघि बिजोर नम्बरका सीमा स्तम्भ मर्मतको कार्य गरेको थियो । नेपाली पक्षले पुर्नवास नगरपालिका–११ डोकेबजारदेखि बेलौरीसम्मका बिजोर नम्बरका जीर्ण सीमा स्तम्भ मर्मतको कार्य गरेको थियो।

“ढलेका, हराएका, नदीले बगाएका र विवादित क्षेत्रका सीमा स्तम्भबारे दुवै देशको सर्भे टोलीको निर्णयानुसार मर्मत र पुनःनिर्माणको कार्य हुने छ”, सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने, “विवादित क्षेत्रका सीमा स्तम्भ भारतीय पक्षलाई मर्मत लगायतको कुनै पनि कार्य नगर्न भनेका छौँ।” विवादरहित क्षेत्रका सीमा स्तम्भ मात्रै भारतीय पक्षले मर्मत गरिरहेको उनले बताए। 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सीमा बैठकमा सीमा स्तम्भ मर्मत गर्ने सहमति भएअनुसार मर्मतको कार्य भारतीय पक्षले गरिरहेको बताए। “यसअघि बिजोर नम्बरका सीमा स्तम्भ हामीले मर्मत ग¥यौँ”, उनले भने, “यस पटक भारतीय पक्षले जोर नम्बरका सीमा स्तम्भ मर्मतको कार्य गरिरहेको छ, हामीले समन्वयको कार्य गरिहेका छौँ।” 

नियमित प्रक्रियाअन्तर्गत सीमा स्तम्भ मर्मत संभारको कार्य भइरहेको उहाँको भनाइ छ। कञ्चनपुरमा ६४ मुख्य, दुई सय २२ सहायक, एक सय चार साना सीमा स्तम्भ रहेका छन्। डोके बजारदेखि ब्रम्हदेवको खल्ला मुसेट्टीसम्मको एक सय २९ दशमलव पाँच किलोमिटर भारतसँगको सीमा क्षेत्र पर्दछ । (रासस) 

कमेन्ट लोड गर्नुस