क्यानडामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको मृत्यु
क्यानडामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको मृत्युको भएको छ। क्यानडाको टोरोन्टोस्थित फ्ल्याटहरूको एउटा ब्लकमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको ज्यान गएको हो। स्थानीय समय अनुसार आइतबार साँझ करिब ७ बजेर २० मिनेट जाँदा टोरोन्टोदेखि करिब ३० किलोमिटर उत्तरमा पर्ने भउगनस्थित गोली चलेको भवनमा प्रहरी पुगेको थियो।
प्रहरीसँगको भिडन्तमा आक्रमणकारी घटनास्थलमै मारिएका थिए। घटनामा घाइते भएका अर्का एक व्यक्तिलाई गम्भीर हालतमा अस्पताल पु¥याइएको छ। प्रहरीले आक्रमणकारीले गोली चलाउनुको कारण र उनको र पीडितहरूबीचको सम्भावित सम्बन्धबारे अनुसन्धान गरिरहेका छन्।
योर्क प्रहरी प्रमुख जिम म्याकस्विनका अनुसार, 'ड्युटीमा रहेका प्रहरी अधिकारीहरूले भवनमा थुप्रै फ्लयाटमा शव भेटाएका छन् । हामीले अहिले मृतकका सम्बन्धित परिवारसँग सम्पर्क राख्ने प्रयास गरिहेका छौँ। त्यसैले अहिले नै मृतक र घटनाकाबारे विस्तृत विवरण दिन सक्तिन। अहिले सर्वसाधारणलाई कुनै खतरा छैन। घटनाको क्रममा त्यहाँबाट भागेकाहरू अब ढुक्क भएर फर्कन सक्छन्।'
ट्विटरमार्फत भउगनका मेयर स्टेफेन डेल डुकाले मृतकका परिवारलाई गहिरो समवेदना प्रकट गरेका छन्। क्यानडामा छिमेकी मुलुक अमेरिकाको तुलनामा थोरै सङ्ख्यामा गोलीकाण्ड हुने गरेको थियो। तर केही समययता बन्दुकसँग सम्बन्धित हिंसा बढ्न थालेपछि हालै बन्दुकमाथि प्रतिबन्ध लगाउन विधेयक ल्याइएको छ।
एकजना बन्दुकधारीले प्रहरीको भेषमा नोभा स्कोसियामा २२ जना मानिसको ज्यान लिएपछि सन् २०२० को मे महिनामा क्यानडाले एकहजार ५ सय किसिसमका सैनिक प्रयोजन स्तरका हतियारमाथि प्रतिबन्ध लगाएको थियो।