नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा समेत २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो। पेनाल्टीमा अर्जेन्टिनाले जित निकालेको हो। अर्जेन्टिनाका लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे।
पेनाल्टीमा नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गरे। तर, भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा गोल गर्न चुके । त्यसअघि लुसाइल स्टेडियममा भएको रोमान्चक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो।
खेलको ३५ औं मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। मोलिनाले मेस्सीको पासमा गोल गरेका हुन्। उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो। खेलको ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए। मेस्सीको यो दशौँ विश्वकप गोल हो।
यस गोलसँगै मेस्सीले विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी गाब्रिएल बाटिस्टुटाको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेका छन्। खेलको ८३ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका वोउट वेघोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २–१ को स्थितिमा ल्याए।
उनी ७८ औं मिनेटमा मेम्फिस डिपेको स्थानमा मैदान छिरेका थिए। त्यसपछि खेलको इन्जुरी समयमा वेघोर्स्टले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको थियो। उनले कुपमाइनर्सको चलाखीपूर्ण फ्रिकिकमा गोल गरेका हुन्।
अब अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ। ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया अन्तिम चारमा पुगिसकेको छ । नेदरल्यान्ड्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।