दार्चुलाको सीमाबाट भारत जानेलाई कडाइ
धनगढीः दार्चुलामा भारतीय पक्षले नेपाल–भारत आवागमनमा कडाइ गरेको छ। मंगलबार नेपाली र भारतीय नागरिकबीच ढुंगा हानाहान भएपछि बुधबारदेखि भारतीय पक्षले आवागमनमा कडाइ गरेको हो।
भारतीय नागरिकले बुधबार बिहान दार्चुलास्थित महाकाली नदीमाथिको पुल बन्द नै गराएका थिए। करिब दुई घण्टा बन्द गरेको पुल अहिले भने खुलेको छ। ‘अरु दिन सधै ७ बजे पुल खुल्थ्यो, तर आज खुलेको थिएन,’ महाकाली नगरपालिका–४ का अध्यक्ष जगतबहादुर चुनाराले भने, ‘दुई घण्टा पछि पुल खुलेको छ।’
उनका अनुसार पुल बन्द हुँदा काम गर्न महाकाली पारी भारततर्फ धार्चुला जाने नेपाली नागरिक रोकिएका थिए। पुल खुलेपछि उनीहरु भारततर्फ गइरहेका छन्। तर भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारततर्फ जाने नेपाली नागरिकमाथि कडाइ गरेका छन्। उनीहरुले परिचय खुल्ने कागजपत्र हेरेर मात्रै भारत प्रवेश दिइरहेका छन्। नेपालतिर बाट दैनिक ज्याला मजदुरी गर्न भारततर्फ जान्छन्।