सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर जिल्ला धान र गहुँमा आत्मनिर्भर

२०८३ भदौ ५, ०२:१६ रासस

कञ्चनपुर: कञ्चनपुर जिल्ला धान र गहुँमा आत्मनिर्भर भएको छ। 

यहाँको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलव्ध हुनु, उन्नत बीउको प्रयोग तथा कृषि यान्त्रिकीकरणको प्रयोग बढेकाले खाद्यान्न उत्पादनमा वृद्धि हुँदा आत्मानिर्भर बनेको हो। 

 कञ्चनपुरमा गत आव २०८२÷०८३ मा ९१ हजार मेट्रिक टन धान र तीन हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो। 

जिल्लाको कूल भू–भागमध्ये ५६ हजार ३६३ हेक्टर क्षेत्रफलमा खेती गरिन्छ। कूल खेतीयोग्य जमिन ६१ हजार ६२४ हेक्टर क्षेत्रफल छ। ४८ हजार ४९६ हेक्टरमा धान र ३१ हजार २१० हेक्टर क्षेत्रफलमा गहुँ उत्पादन हुन्छ।  

कृषि ज्ञान केन्द्र कञ्चनपुरले कूल क्षेत्रफलको ३५ प्रतिशत क्षेत्रफलमा मात्रै खेती हुने गरेको जनाएको छ।पछिल्ला वर्षमा धान र गहुँको उत्पादकत्व समेत वृद्धि हँुदै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ। “कूल खेतीयोग्य जमिनको ६५ प्रतिशत क्षेत्रफलमा मात्रै सिचाइ सुविधा उपलब्ध छ।” कञ्चनपुर, कृषि ज्ञान केन्द्रका प्रमुख हरिप्रसाद पनेरुले जानकारी दिए।  

यहाँबाट धान गहुँ, तोरी, मकै र मसुरो निर्यात हुने गरेको भए पनि जिल्लामा सबैभन्दा बढी आलु र प्याज आयात हुने गरेको पनेरुले बताए। “पछिल्लो समय खेतीयोग्य जग्गा प्लटिङ भइरहेको छ। पहाडबाट तराईमा बसाइसराइ तीव्र छ”, उनले भने, “बसाइसराइको चापका कारण खेतीयोग्य जग्गा खण्डीकरण हँुदै गएको छ।” बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ। 

सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन खण्डीकरण भइरहेको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा  बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेको छ। 

कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको जम्मा खेतीयोग्य जमिनको ५१ हजार दुई सय ५० हेक्टर जग्गा बाँझो छ। सुदूरका पहाडी जिल्लाको कूल खेतीयोग्य जमिन ५६ हजार तीन सय ४७ हेक्टर छ मध्ये ४२ हजार चार सय १३ हेक्टरमा खेती हुने गरेको छ। 

निर्देशनालयका अनुसार डोटीमा ३२ हजार दुई सय ७६ हेक्टर खेतीयोग्य जमिनमध्ये २५ हजार पाँच सय हेक्टरमा खेती हुने गरेकोछ। डडेल्धुरामा ११ हजार छ सय १६ हेक्टर खेतीयोग्य रहेकामा १० हजार छ सय ६७ हेक्टरमा खेती हँुदै आएको छ। 
 
बैतडीमा ३१ हजार चार सय ८५ हेक्टर खेतीयोग्य जमिन रहेकामा २५ हजार सात सय हेक्टरमा खेती भइरहेको छ। बाजुरामा २४ हजार तीन सय हेक्टर खेतीयोग्य जमिनमध्ये २० हजार एक सय ५५ हेक्टरमा खेती भइरहेको छ। 

चैतीस हजार छ सय सात हेक्टर जमिन खेतीयोग्य रहेको बझाङमा २८ हजार दुई सय १४ हेक्टरमा खेती हुँदै आएको छ। उनान्तीस हजार पाँच सय ४४ हेक्टर जमिन खेतीयोग्य रहेको दार्चुलामा २२ हजार आठ सय २५ हेक्टरमा खेती हुँदै आएको कृषि विकास निर्देशनालय डोटीका कृषि अर्थ निर्देशक ज्ञानराज कँडेलले जानकारी दिए।

कमेन्ट लोड गर्नुस