दार्चुलामा महाकालीको धार परिवर्तनको विवाद के हो ?
भारतको मनोमानी
धनगढीः दार्चुलामा महाकाली नदीको धार परिवर्तनको कुरालाई लिएर विवाद चुलिएको छ। भारतीय पक्षले महाकाली नदीको धार नेपालतर्फ फर्काएर तटबन्धन गर्न खोजेपछि विवाद चुलिएको हो।
जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने पुलको दक्षिण र उत्तरतर्फको भागमा भारतीय पक्षले पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध गर्न खोज्दा विवाद भएको स्थानीय प्रशासनले जनाएको छ।
पुलको उत्तरतर्फ पर्ने क्षेत्रमा तटबन्ध गर्ने विषयमा दुवै पक्षका प्राविधिकको अध्ययनपछि मात्र काम थाल्ने मौखिक समझदारी विपरीत भारतीय पक्षले काम गरेपछि आइतबार र सोमबार खलंगा क्षेत्र तनावग्रस्त बनेको थियो। सो क्रममा ढुङ्गामुढा हानाहान समेत भएको थियो भने केहीबेर नाका समेत बन्द गरिएको थियो। तर, अहिले पुल खुलाइएको छ।
सोही विषयलाई लिएर सोमबार भारतीय पक्षले महाकाली पुलमाथि आवतजावतमा रोक लगाएको थियो तर अहिले दुवै पक्षबीच छलफल गर्ने समझदारीपछि आवागमन खुलेको छ। दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले भारतीय पक्षले पुलको उत्तरतर्फको भागमा तटबन्धन निर्माण गर्दा पानीको धार नेपालतर्फ फर्काउन खोज्दा विवाद भएको बताइन्।
अहिले नदीको उत्तरतर्फ तटबन्ध गर्ने काम रोकिएको छ। सकभर आजै नभए भोलिसम्म दुवै पक्षको बैठक बसेर विवाद निरुपण गर्ने समझदारी भएको उनले बताइन्। दक्षिणतर्फ भने खासै समस्या नपर्ने भएकाले तटबन्ध गर्न दिइएको स्थानीय प्रशासनले जनाएको छ।