सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले छात्रवृत्तिको रकम दिएन
धनगढी: सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई पैसा नदिएको खुलेको छ। आर्थिक वर्ष २०७६/०७७ को वार्षिक कार्यक्रममा समेटिएको तीन वर्षे डिप्लोमा अध्ययन गर्न छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीले छात्रवृत्ति रकम नपाएका हुन्।
प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढीको सरस्वती माध्यमिक विद्यालयमा तीन वर्षे सिभिल ओभरसियर पढ्ने चार जना विद्यार्थीलाई पढाइ सक्किन लाग्दा पनि छात्रवृत्ति रकम दिएको छैन। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक कार्यक्रम तथा बजेटमा अति विपन्न वर्गका विद्यार्थीहरूका लागि ३ वर्षे प्राविधिक डिप्लोमा अध्ययनका लागि छात्रवृत्ति दिन ८८ लाख छुट्याएको थियो।
सरकारले हरेक वर्ष ५० हजारका दरले प्रदेशका ९ जिल्लाका विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्ने योजना थियो। मन्त्रालयले त्यहीँ वर्ष छात्रवृत्ति पाउन योग्य विद्यार्थीको छनोट पनि गर्यो। छनोट भएका विद्यार्थीले पहिलो किस्ताको ५० हजार रकम प्राप्त गरे। तर एन्जल साउँदले हरेक ६/६ महिनामा ५० हजारका दरले पाउनुपर्ने छात्रवृत्ति रकम आफूसहित चार जनाले नपाएको बताएका छन्।
‘सुरुमा सूचना गर्दा मन्त्रालयले तीन वर्षे डिप्लोमा पढ्न तीन लाख छात्रवृत्ति दिने भनेर फाराममा उल्लेख गरेको थियो तर पछि डेढ लाख दिने भनेको हो,’ उनले भने, ‘पहिलो किस्तामा हामीले पचास हजार पायौँ, त्यसपछि भने तीन वर्ष पूरा भइसक्दापनि पैसा पाएका छैनौँ।’
छात्रवृत्तिका लागि निवेदन दिँदा आवेदन फाराममा प्रति वर्ष एक लाखका दरले तीन वर्षमा तीन लाख छात्रवृत्ति दिने भनिएको विद्यार्थीले बताएका छन्। तर मन्त्रालयले विद्यार्थीहरूलाई तीन किस्तामा ५० हजारका दरले एक लाख ५० हजार मात्रै दिने भने पनि समयमा परीक्षाको नतिजा सहित निवेदन नदिएको भन्दै छात्रवृत्ति रकम नपाएको बताएका छन्।
‘हामी मन्त्रालयमा पटकपटक गयौँ तर अहिलेसम्म ५० हजारभन्दा बढी रकम पाएनौँ,’ उनले भने, ‘अहिले पढाइ सक्किन लागेको छ तर छात्रवृत्ति पाउने नपाउने कुनै टुङ्गो छैन।’ मन्त्रालयले भने छात्रवृत्ति पाउन छनोट भएका विद्यार्थीले तीन किस्तामा ५० हजारका दरले १ लाख ५० हजार छात्रवृत्ति रकम दिन सूचना जारी गरेको जनाएको छ। पहिलो किस्ता दिएपछि दोस्रो र तेस्रो किस्ता पाउन विद्यार्थीले अनिवार्य पहिलो र दोस्रो वर्ष पास भएको हुनुपर्ने सर्त राखिएको थियो।
तर कोरोनाको कारण विद्यार्थीहरूको परीक्षाफल ढिलो आउँदा र आर्थिक वर्ष सकिनुपूर्व आवेदन नआएकाले चार जनालाई छात्रवृत्ति दिन नसकिएको प्रदेशको सामाजिक विकास मन्त्रालयको दाबी छ। सामाजिक विकास मन्त्रालयको शैक्षिक योजना तथा अनुसन्धान महाशाखाका शिक्षा अधिकारी लोकेन्द्रप्रसाद भट्टले सूचना जारी गरेको समयमा विद्यार्थीले निवेदन नदिएकाले रकम नपाएको बताए।
‘छात्रवृत्ति चार जना विद्यार्थीले पाउन नसकेका हुन्। त्यो किनभने उहाँहरूले सूचना गरेको समयमा निवेदन दिनु भएन,’ उनले भने, ’कोरोनाको कारण विद्यार्थीको परीक्षाफल आउँन ढिला हुँदा छात्रवृत्ति नपाएका हुन्, तर उहाँहरुलाई रकम उपलब्ध गराउन हामी पहल गर्नेछौँ।’
मन्त्रालयले तीन वर्षका लागि छात्रवृत्ति कार्यक्रम चलाएकोमा त्यसको अवधि समाप्त भएको छ। तर एन्जल साउँद, दिपेन्द्र साउँद, शिक्षा बाँनिया र निर्मला ओलीले पाउनुपर्ने छात्रवृत्ति रकम पाएका छैनन्। मन्त्रालयले भने विद्यार्थीले पाउनु पर्ने छात्रवृत्ति उपलब्ध गराउन प्रयास गर्ने जनाएको छ।