सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी हुन् सुदूरपश्चिममा अहिलेसम्म विजयी प्रतिनिधि र प्रदेश सभा सदस्य

२०७९ मंसिर ८, ०१:०५ नारायण अवस्थी

धनगढीः मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको सुदूरपश्चिमका सबै जिल्लाको मत गणना सकिएको छैन्। बाजुराबाहेक प्रदेशका ८ जिल्लामा सुरू भएको मत गणनाको अन्तिम परिणाम सार्वजनिक भइरहेको छ। 

प्रदेशभर प्रतिनिधि सभातर्फ १६ र प्रदेशतर्फ ३२ स्थानमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ। जसमध्ये यो सामाचार तयार गर्दासम्म प्रतिनिधि सभातर्फ १२ स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ। २०७९ को आम निर्वाचनमा पाँच दलीय गठबन्धनले ९ स्थानमा जित हात पारेको छ। नागरिक उन्मुक्तिले २ र नेकपा एमालेले प्रतिनिधि सभातर्फ १ स्थानमा जित निकालेका छन्। प्रदेश सभामा नतिजा सार्वजनिक भएका २५ स्थानमध्ये नेपाली काँग्रेसले ८ स्थान, नेकपा माओवादी केन्द्रले ७ स्थान, नागरिक उन्मुक्ति पार्टीले ४ स्थान, नेकपा एमालेले ३ स्थान र नेकपा एकिकृत समाजवादीले २ र स्वतन्त्रले १ स्थानमा जित निकालेका छन्।

प्रतिनिधि सभातर्फ नतिजा सार्वजनिक भएका ११ स्थानमध्ये नेपाली काँग्रेसले ६ स्थान, नेकपा एकिकृत समाजवादीले ३ र नागरिक उन्मुक्ति पार्टी २ स्थानमा निर्वाचित भएको छ। डडेल्धुराबाट प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सातौं पटक निर्वाचित भएका छन्। देउवाले निकटतम प्रतिद्वन्दी सागर ढकाललाई पराजित गर्दै २५ हजार ५३४ मत लिएर चुनाव जितेका छन्। डडेल्धुराको प्रदेश १ बाट नेकपा माओवादी केन्द्रका खगराज भट्टले चुनाव जितेका छन्। २ मा स्वतन्त्र उम्मेदवार डाक्टर ताराप्रसाद जोशी निर्वाचित भएका छन्। 

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट रमेश लेखकले ३० हजार ५२३ मत लिएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका निरूदेवी पालको १८ हजार ४४८ मत आएको छ। कञ्चनपुर ३ को १ मा नेकपा एकिकृत समाजवादीका प्रकाश रावल र २ बाट नेपाली काँग्रेसका बेलबहादुर राना मगर निर्वाचित भएका छन्।

कञ्चनपुर २ बाट नेपाली काँग्रेसका नारायणप्रकाश साउँदले जीत निकालेका छन्। उनले २८ हजार १०० मत ल्याउदा निकटतम प्रतिस्पर्धी नरबहादुर धामीले २१ हजार ६४५ मत पाएका छन्। प्रदेशतर्फ भने २ को १ मा नेकपा माओवादी केन्द्रका  ओमविक्रम भाट र २ बाट काँग्रेसका बहादुरसिंह थापा प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। 

यस्तै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रदेश सभातर्फ १ मा काँग्रेसका दिवानसिंह विष्ट र २ मा नेकपा एमालेका वीरबहादर थापाले चुनाव जितेका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रन्जिता श्रेष्ठ निर्वाचित भएका छन् भने प्रदेशतर्फ नागरिक उन्मुक्तिकै कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले जित निकालेका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्तिका गङ्गाराम चौधरी २३ हजार १२० मतका साथ विजयी भएका छन्। यो क्षेत्रमा प्रदेशतर्फ पनि नागरिक उन्मुक्तिकै जित भएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश १ बाट घनश्याम चौधरी र २ बाट खुशीराम डगौरा थारू निर्वाचित भएका हुन्। 

कैलाली-४ मा प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका वीरबहादुर बलायरले नेकपा एमालेका नेता लेखराज भट्टलाई पराजित गर्दै जित निकालेका छन्। बलायरले २६ हजार २२० मत ल्याउदा भट्टको भने २२ हजार ६१३ मत आएको थियो। प्रदेशतर्फ १ मा नेकपा समाजवादीका दीर्घबहादुर सोडारी र २ मा नेपाली काँग्रेसका प्रकाशबहादुर बम निर्वाचित भएका छन्। 

कैलालीका अन्य क्षेत्रको गणना भने सकिएको छैन। दार्चुला जिल्लामा गठबन्धनले क्लिन स्विप गरेको छ। त्यहाँ प्रतिनिधि सभाका लागि काँग्रेस नेता दिलेन्द्रप्रसाद बडूले नेकपा एमालेका गणेशसिंह ठगुन्नालाई पराजित गरेका छन्। बडूले २८ हजार ५१५ मत ल्याउदा ठगुन्नाले २६ हजार ३८१ मत पाएका छन्। प्रदेशतर्फ १ मा नेपाली काँग्रेसका विक्रमसिंह धामी र २ मा मानबहादुर धामीले चुनाव जितेका छन्।

बैतडीको प्रदेश १ नेकपा एमालेका सुरेन्द्रबहादुर पाल र २ बाट काँग्रेसका शिवराज भट्ट निर्वाचित भएका छन्। बझाङमा गठबन्धनका भानुभक्त जोशी प्रतिनिधि सभाका लागि निर्वाचित भएका छन्। नेकपा एकिकृत समाजवादीका नेता जोशीले २८ हजार ४१३ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ऐनबहादुर महरले २७ हजार ४१२ मत पाएका छन्। प्रदेश सभा सदस्यमा १ बाट काँग्रेसका पृथ्वीबहादुर सिंह र २ बाट नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी निर्वाचित भएका छन्।

डोटीमा गठबन्धनका प्रेमबहादुर आले २७ हजार २१० मत लिएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी गौरीकुमारी ओलीले २३ हजार ४ मत प्राप्त गरेकी छन्। प्रदेश सभातर्फ १ मा नेकपा एमालेका चक्रबहादुर मल्ल निर्वाचित हुँदा २ बाट भने माओवादी केन्द्रका शिवसिंह ओलीले चुनाव जितेका छन्।

दुई निर्वाचन क्षेत्र रहेको अछाममा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धन विजयी भएको छ। अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एकिकृत समाजवादीका शेरबहादुर कुँवर र क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका पुष्पबहादुर शाहले चुनाव जितेका छन्। प्रदेश सभातर्फ १ को १ मा नेपाली काँग्रेसका मेघराज खड्का र १ को २ मा नेकपा माओवादी केन्द्रका झपटबहादुर साउँद निर्वाचित भएका छन्। यस्तै, अछामको क्षेत्र नम्बर २ को १ मा नेकपा माओवादी केन्द्रका अक्कल रावल निर्वाचित भएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस