आम निर्वाचनः सुदूरपश्चिममा किन खस्यो कम मत ?
धनगढीः सुदूरपश्चिममा विगतका चुनावभन्दा यो वर्ष कम मत खसेको छ। विगतका चुनावभन्दा कुल मतदाता बढी भए पनि आइतबार भएको मतदानमा भने सुदूरपश्चिमा केवल ६३ प्रतिशत मात्रै मत खसेको हो।
दलहरू चुनावमा मात्रै जनतामाझ जाने तर अरुबेला सर्वसाधारणको समस्या नबुझ्ने भएकाले यो पटक कम संख्यमा भोट खसेको विश्लेषण गरिएको छ।
सुदूरपश्चिम प्रदेशमा पाँच वर्ष अगाडि भएको आम निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो। तर यो वर्ष आइतबार सम्पन्न चुनावमा प्रदेशभर केवल ६३ प्रतिशत मात्र मत खस्नुलाई चुनावलाई मतदाताले उत्सवका रुपमा नलिएको राजनीतिक विश्लेषक डाक्टर केदारचन्द्र भट्टले बताए।
‘जनतामा चुनावप्रति उत्साह देखिएन, त्यो नदेखिनुमा एउटा कारण राजनीति नै रह्यो,’ उनले भने, ‘दलहरू चुनावमा आउने, जितेपछि फेरि अर्को चुनावमा आउने, काम केही नगर्ने जनतालाई आश्वासन मात्रै दिने हुँदा भोट हाल्न गएनन्।’
राजनीतिक दलहरूले अघिल्लो चुनावमा गरेका प्रतिवद्धताअनुसार काम गर्न नसक्दा मतदाताको विश्वास दलहरूप्रति घट्दै गएको देखिन्छ। विगतभन्दा कम प्रतिशत मत खस्नुले दलहरूप्रति मतदाताको आकर्षण घट्दै गएको अनुमान गरिएको हो। पार्टीको सिद्धान्त, नीति र विचार दलहरूले अनुसरण गर्न नसक्दा मतदाता भोट हाल्न उदासीन भएको राजनीति शास्त्रका प्राध्यापक सुरेन्द्र चन्दले बताए।
‘दलहरूले जनतामाझ गरेको घोषणाअनुसार काम गर्न सकेनन्, दलको नीति र गरेको काम बारे पनि प्रष्टसँग बुझाउन सकेनन्,’ उनले भने, ‘जनतामा उदासिनता बढेको छ किनभने जनता के चाहन्छन् भन्ने दलहरूले बुझ्ने प्रयाससम्म नगर्दा चुनावप्रति आकर्षण घट्न पुगेको हो।’
दलहरू चुनावमा मात्रै जनता माझ जाने, अरु बेला जनताका समस्यासँग बेखबर हुने भएकाले कम प्रतिसत मत खसेको अनुमान गरिएको छ। २०६४ पछि भएका हरेक निर्वाचनमा भोट हाल्ने प्रतिशत बढ्नु पर्नेमा दलहरूले जनताको समस्या समाधान गर्न समय खर्च नगरि राजनीतिक लुछाचुडीमै व्यस्त रहेकाले खिन्न भएर सर्वसाधारण मतदान गर्न सरिक नभएको विश्लेषकहरुको तर्क छ।
‘संविधान बनेपछि जनतामा आएको उत्साहले २०७४ मा संसदमा दुई तिहाई नजिक बहुमत आयो,’ विश्लेषक भट्टले भने, ‘दुई तिहाई नजिकको बहुमतले पनि काम गर्न नसक्दा दलहरूप्रति जनता खिन्न भए तर पनि जति मत खस्यो त्यसलाई कम भन्न मिल्दैन।’
२०६४ यता सबै दललाई परीक्षण गरिसकेका सुदूरपश्चिमका मतदाताले यो पटक भने अनुकुल समयमा चुनाव भए पनि मतदान गर्ने जाँगर नदेखाएका हुन्। मतदातामा भोट खसाल्ने उत्साह कम हुनुले पार्टीका नीति र नेताका व्यवहार सर्वसाधारणलाई मन नपरेको रुपमा अर्थ्याइएको छ।