सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

फाइल फोटो
फाइल फोटो
२०७९ कार्तिक ३०, ०३:५० खबर संवाददाता

बैतडीः नेपाल र भारत सीमा क्षेत्रमा संयुक्त गस्ती थालिएको छ। बैतडीमा निर्वाचन सुरक्षामा कडाइ गर्दै नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्न थालिएको हो। जिल्लामा २ हजार पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ। 

जिल्लाको पञ्चेश्वर र शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाको महाकाली किनारमा सशस्त्र प्रहरीले गस्ती बढाएको हो। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नियमित गस्ती भइरहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५१ गुल्म बैतडीले जनाएको छ। 

बैतडीमा रहेको तीनवटै बीओपीबाट नियमित गस्ती भइरहेको हो। भारतीय पक्षसँग पनि समुन्वय गरेर संयुक्त गस्ती पनि भइरहेको बताइएको छ। बैतडीको झुलाघाटसहितका नाकाहरु मंसिर १ गते राति १२ बजेपछि बन्द रहनेछन्। बैतडीको झुलाघाट र नेपाल–भारत ओहोरदोहोर गरिने पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा रहेका घाटहरु पनि बन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

निर्वाचनलाई स्वक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि सिमानाका सिल गरिनुका साथै आवश्यक सतर्कता अपनाइएको हो।

कमेन्ट लोड गर्नुस