विभिन्न वायुसेवा कम्पनीले २ अर्ब ३५ करोड बक्यौता रकम बुझाउन बाँकी
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले नेपाल एयरलाइन्स, सौर्य एयर लाइन्स, एयर इन्डियालगायतका विमान कम्पनीहरुले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थललाई करिब २ अर्ब ३५ करोड बराबरको बक्यौता रकम बुझाउन बाँकी रहेको जानकारी दिएका छन।
आइतबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा उहाँले यो बक्यौता रकममध्ये ५० लाख भने भुक्तानी हुने क्रममा रहेको बताए। समितिका सदस्यहरुले भने त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका कर्मचारीहरुकै मिलोमतोमा यो बक्यौता रकम हिनामिना भएको हुनसक्ने आशंका गर्दै आक्रोश व्यक्त गरेका थिए। समितिका अर्का सदस्य विरोध खतिवडाले अदालतको मुद्दा नै नभएका विमान कम्पनीहरुको बक्यौता रकम किन असुल नगरेको भनी त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका पदाधिकारीहरुमाथि प्रश्न गरेका थिए। उनले हिनामिना गरेर खाने अनि बक्यौता रकम देखाउने काम कर्मचारीहरुबाट हुने गरेको आरोप लगाउँदै यस्तो कुरा सह्य नहुने चेतावनी समेत दिए।
यता, त्रिभवुन अन्तर्रा्ष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने ३ महिनाभित्र यो बक्यौता रकम असुल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सार्वजनिक लेखा समितिको निर्देशन र प्रचलित कानुन अनुसार ३ महिनाभित्र पनि बक्यौता रकम असुल नगर्ने कम्पनीको विमान सञ्चालनमा रोक लगाउने चेतावनी दिए।