सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यालयमा आमसभा गर्ने गठबन्धनका उम्मेदवार बडूसहित ४ जनालाई आयोगको स्पष्टीकरण

२०७९ कार्तिक २५, ०७:३० खबर संवाददाता

काठमाडौं: दार्चुलाको शैल्यशिखर नगरपालिका-९ स्थित गोकुलेश्वर उच्च माविमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)समेतको दलले चुनावी सभा आयोजना गरेको विषयमा निर्वाचन आयोगले  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसहितका उम्मेदवार र विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको छ।

आयोगले दार्चुला १ (१) मा काँग्रेसका उम्मेदवार विक्रम सिंह धामी, प्रदेशसभा १ (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी र विद्यालयका प्रधानाध्यापक धनञ्जय जोशीलाई स्पष्टीकरण सोधेको हो। त्यस्तै, दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कारबाही गर्न निर्देशनसमेत दिएको छ भने प्रमुख जिल्ला अधिकारीलाई ४ दिनभित्र घटनाको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

आयोगले मन्त्री बडूलाई सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्षमा प्रयोग गर्न नहुने निर्वाचन आचारसंहिताको व्यवस्था सम्झाउँदै आचारसंहिता उल्लंघनको विषयमा २४ घण्टाभित्र स्ष्टीकरण दिन भनेको छ। विद्यालयका प्रधानाध्यापक जोशीलाई चुनावी सभालाई विद्यालय प्रयोग गर्न दिनुको कारण माग गर्दै कारबाही गर्न नपर्ने कारण भए पेश गर्न भनिएको छ।

कमेन्ट लोड गर्नुस