चैत १५ र १६ गते लगानी सम्मेलन हुने
आउँदो चैत १५ र १६ गते राजधानीमा लगानी सम्मेलन हुने भएको छ। सरकारले लगानी सम्मेलनलाई मध्यनजर गर्दै आर्थिक र औद्योगिक विधेयकहरूमा व्यापक सुधार अगाडि बढाएको छ। सो सम्मेलनका लागि सरकारले संसदमा विचाराधीन विधेयकमार्फत् विदेशी लगानीकर्तामैत्री व्यवस्था अगाडि बढाएको छ। प्रधानमन्त्रीलाई ठूला आयोजनामा निर्णय गर्न सक्ने अधिकारसहित ‘राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक’ प्रतिनिधि सभामा दर्ता भएको छ। जसमा सुरूङ मार्गसहितका सडक, रेलमार्ग, अन्तर्रा्ष्ट्रिय विमानस्थल, दुई सय मेगावाटमाथिको हाइड्रोपावर र ठूला प्रसारण लाइनको प्रत्यक्ष निगरानी प्रधानमन्त्रीले गर्ने व्यवस्था रहेको छ।
त्यस्तै विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानून प्रतिनिधि सभाको उद्योग वाणिज्य र श्रम समितिमा छलफलमा छ। प्रतिनिधि सभामा सैद्धान्तिक छलफलपछि परेका संशोधनमाथि समितिले छलफल चलाइरहेको छ। विधेयकको प्रस्तावनामै ‘विदेशी पुँजी, प्रविधि र लगानी भित्र्याउने’ लक्ष्य रहेको जनाइएको छ। त्यस्तै सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको छ। सरकारले विधेयकमार्फत् सार्वजनिक र निजी साझेदारीमा सञ्चालन हुने आयोजना र परियोजना सञ्चालन तथा लगानीको मोडालिटीको विषयमा पहिलोपटक कानुन तयार गरेको हो।