सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कपः कर्णालीलाई हराउँदै घर फर्क्यो सुदूरपश्चिम

२०७९ कार्तिक २१, ०३:५५ खबर संवाददाता

काठमाडौंः प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताबाट बाहिरिसकेको सुदूरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ। कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमले प्रधानमन्त्री क्रिकेटमा आफ्नो यात्रा सकेको छ।

मुलपानी क्रिकेट मैदानमा जितका लागि पाएको १३१ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले २९।४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। उसका लागि ओपनर ब्याटर गजेन्द्र बोहोरा र टेक रावलले पहिलो विकेटका लागि ५४ रनको बलियो साझेदारी गरे। रावल १८ रन बनाउँदै रविन्द्र शाहीबाट बोल्ड भए। गजेन्द ४१ रनमा विकेट किपर विपिन रावलबाट क्याच भए।

जारी प्रतियोगितामा सम्हालिएर ब्याटिङ गरेका शेर मल्ल ३४ रनमा नट आउट रहे। कप्तान राजु रिजाल २४ रनमा नट आउट रहे। यसअघि विरेन्द्र नाथ र दिपक टमटा समान ९÷९ रनमा तथा बसन्त खत्री ६ रनमा आउट भएका थिए।

कर्णालीका लागि रविन्द्र शाहीले सर्वाधिक ३ विकेट लिए । स्पिनर दिवान पुनले २ विकेट लिए। टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले अर्जुनको आक्रमक ब्याटिङमा १५१ रन बनाएको थियो। अर्जुनले ९६ बल खेल्दै ७० रन बनाए । उनले ४ चौका र ५ छक्का प्रहार गरे । सुवास ऐयरले २४ तथा हिमांशु शाहीले १२ रन बनाए। सुदूरका नारायण जोशीले सर्वाधिक चार विकेट लिए । हेमन्त धामीले ३ तथा गजेन्द्र बोहोराले २ विकेट लिए।

कमेन्ट लोड गर्नुस