नेपालका कान्छा साइकलयात्री जन्मभूमि बैतडीमा
बैतडी: नेपालका कान्छा साइकलयात्री भनेर चिनिने १२ वर्षीय रमित भट्ट आफ्नो जन्मभूमि बैतडी पुगेका छन्। गत वर्ष ११ बर्षको उमेरमा मेची महाकाली साइकल यात्रा गरेर कान्छा साइकलयात्रीको पहिचान बनाएका भट्ट बेलौरी–बैतडी धार्मिक पर्यटन साइकलयात्रा गर्दै बैतडी पुगेका हुन्।
बैतडीका धार्मिक पर्यटकीय स्थलहरुको दर्शन गर्ने र ती स्थलहरुको प्रचारप्रसारका लागि आफू साइकलमा बैतडी पुगेको भट्टले बताए। बैतडीको मेलौली नगरपालिका-२ रौतगाउँमा जन्मेका भट्ट अहिले कञ्चनपुरको बेलौरीमा बस्दै आएका छन्।