हातखुट्टाले एकैसाथ उल्टो सुल्टो लेख्न सक्ने सुदूरपश्चिमका मनोज विश्व कृतिमानको यात्रामा
बैतडीको सिगास गाउँपालिका ९ चौखामका मनोज चन्दसँग दुवै हात, दुवै खुट्टा, दुवै कुहिना र मुखले सहजै लेख्न सक्ने अनौठो कला छ। साथै ६ वटा कलम एकैपटक चलाएर उल्टोसुल्टो लेख्ने कला पनि उनीसँग छ। कलालाई विश्वभर चिनाउदै विश्व कृतिमान रच्ने यात्रामा रहेका मनोज केही दिन अघि धनगढी आईपुगेका छन्। आफूमा भएको कला विश्वभर देखाउने उद्देश्य लिएर २०६८ सालदेखी अभियानमा निस्केका चन्दले नेपालका ७१ जिल्ला र विश्वका २५ देशको भ्रमण गरिसकेका छन्। भ्रमणका क्रममा ७१ जिल्ला र २५ देशमा आफूले लेखन कला प्रर्दशन गरिसकेको उनी बताउछन्। गिनिज बुक अफ द वल्र्ड रेकर्डका लागि नाम समेत दर्ता गराइसकेका मनोजले आफ्नो अभियानलाई निरन्तरता दिएका छन्।
राज्यबाट सधै उत्पीडनमा पर्दै आएको सुदूरपश्चिममा बस्ने व्यक्तिसँग पनि कला र क्षमता हुन्छ भन्ने कुरा प्रमाणित गरिसकेका मनोजले अबको यात्रा देशलाई विश्वसामु चिनाउनु भएको बताए। खासगरी अपाङ्गता भएका व्यक्तिहरुलाई उत्पे्ररणा दिने उद्देश्यले लेखन कला प्रर्दशनी अभियानमा लागेका उनले अभियानका क्रममा देश विदेशमा कला प्रर्दशन गर्दा सकारात्मक प्रतिक्रिया पाउने गरेका छन्। धेरै व्यक्ति उनको कला देखेर आश्चर्य चकित हुने गरेका छन् भने साथ र सहयोग पनि उतिकै पाउने गरेका छन्। भिन्न भिन्न देशका नागरिकहरुले व्यक्त गर्ने सकारात्मक भावले चन्दमा उत्साह थपिएको छ। देश विदेशका विभिन्न शैक्षिक संस्थामा पुगेर कला प्रर्दशन गर्दै आएका चन्दले सकरात्मक भावले उर्जा थपेको बताए। आफ्नो कलाबाट फरक क्षमता भएका व्यक्तिहरु उत्प्रेरित भएको पाएको चन्द बताउछन्।
प्रदेश सरकारसँग सहयोगको अपेक्षा
विभिन्न देशमा कला देखाउदै आएका चन्दले देशको प्रतिनिधित्व गर्दै आएका छन्। बैतडीमा जन्मीएका चन्दले आफ्नो कलाको माध्यमबाट सुदूरपश्चिम प्रदेशको समेत प्रतिनिधित्व गरिरहेका छन्। व्यक्ति भन्दा पनि देशको नामले चिनिदै आएका चन्दलाई विश्व कृतिमानको यात्राका क्रममा आर्थिक समस्या आउने गरेको छ। उनले आफूले प्रदेश सरकारसँग सहयोगको अपेक्षा गरेको बताए। उनले यात्राको क्रममा भिषा र टिकटको समस्या हुने गरेकाले प्रदेश सरकारसँग टिकट वापतको सहयोगको अपेक्षा गरेको बताए। यात्राका क्रममा चन्दले विभिन्न देशमा रहेका नेपाली दूतावास र एनआरएनहरुको सहयोग लिने गरेको बताएका छन्। उनले कुवेत, बहराइन, कतार र जापान लगायतका २५ देशमा कला प्रस्तुत गरिसकेको बताए।
लेप्ट्या भनेर जिस्क्याउँदा फेरिएको जिवन
कक्षा ९ मा पढ्ने बेलादेखी गरेको प्रयासको फलस्वरुप दुबै हात, दुबै खुट्टा, दुबै कुहिना र मुखले सजिलै नेपाली र अंग्रेजी लेख्न सक्छन् मनोज। उनले ६ ओटा कलम संगै चलाएर उल्टो र सुल्टो लेख्न सक्छन्। कक्षा ९ मा अध्ययन गर्ने बेलासम्म बाँया हातले लेख्ने चन्दलाई सबै साथीभाइले बाँया हातले लेख्दा लेप्ट्या भनेर हेप्न थालेपछि दाँया हातले लेख्ने प्रयास गरेको बताए। सुरु सुरुमा दायाँ हातले लेख्न समेत कठिन मानेका चन्दले दृढ संकल्प बोकेर अगाडी बढ्दा अहिले ६ ओटा कलम संगै चलाएर दुबै हात, खुट्टा, कुहिना र मुखले समेत लेख्न सक्ने भए। मनोजले आफूमा भएको अन्य क्षमताको पहिचान गर्दै गए। क्रमश उनमा शरीरका अन्य अंगले पनि लेख्न सक्छु भन्ने विश्वास बढ्न थाल्यो। त्यसपछि दुबै हातसँगै दुबै खुट्टा, दुबै कुहिना र मुखले सजिलै लेख्ने सक्ने भए। चन्द भन्छन्, जीवन भनेको सिकाई हो, सिक्नमा कहिल्लै पछि नपरौ, आफुलाइ चिनेर जीवनमा केहि न केहि गर्न सक्छु भन्ने सोचेर अहिलेसम्म संघर्षरत छु।