प्रधानमन्त्री कपमा पुलिसको तेस्रो जित
काठमाडौँः पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ। पुलिसले बिहीबार लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्यो। यस बावजुत पनि पुलिसको सेमिफाइनल निश्चित नै भएको छैन।
कप्तान देव खनालले ७४ रन बनाए पनि टस जितेको लुम्बिनी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ४४.२ ओभरमै १ सय ८८ रनमा अलआउट भयो। देव आउट भएसँगै लुम्बिनीले अन्तिम ७ विकेट ५० रनमै गुमाएको थियो । देवले ८८ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । देवले प्रज्वल थापासँग दोस्रो विकेटमा ६० र विशालविक्रम केसीसँग चौथो विकेटमा ५७ रनको साझेदारी गरेका थिए ।
प्रज्वलले ६३ बलमा २ चौकासहित २३ र विशालले ३८ बल खेलेर ३ चौका र १ छक्का प्रहारसहित ३० रन बनाए । दुर्गेश गुप्ता र मोहम्मद हुसैन समान ११ रनमा आउट भए । माथिल्लोक्रममा ओपनर आकाश त्रिपाठी शून्य र सन्दीप रजाली ७ र बसिर अहमद ५ रनमा आउट भए । दीपेन्द्रले १० ओभरमा ५५ रन खर्चेर ४ विकेट लिए । करण केसी र सागर ढकालले २–२ तथा गुलशन झा र ललित राजवंशीले १–१ विकेट लिए ।
दीपेन्द्रले अविजित ४३ रन बनाएपछि पुलिसले ३७.१ ओभरमै १ सय ९२ रन बनायो । दीपेन्द्रले ६६ बल खेल्दै ५ चौका प्रहार गरे । ओपनर सुनील धमलाले २६ बलमा ४ चौका र २ छक्कासहित ३६, कुशल भुर्तेलले ४१ बलमा २ चौकासहित ३२, अमित श्रेष्ठले ३५ बलमा ५ चौकासहित २८ र आरिफ शेखले ५१ बलमा ५ चौकासहित ३५ रन बनाए । दीलिप नाथ ६ रनमा अविजित रहे।