सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा बलिसहित जात्रा सम्पन्न

२०७९ कार्तिक १८, ०७:२३ खबर संवाददाता

बैतडीः बैतडी जिल्लाको प्रमुख शक्तिपीठमध्येको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा आज पशु बलिसहित जात्रा सम्पन्न भएको छ। दशरथचन्द नगरपालिका–८ मा रहेको उक्त मन्दिरमा कात्तिक १४ गतेदेखि पूजापाठ भएर आज राँगा र बोकाको बलिसहित जात्रा सम्पन्न भएको हो। 

मन्दिरका मुखिया चन्द्रसिंह थापाका अनुसार ८० राँगा र ८० बोका गरी एक सय ६० पशुको बलि दिइएको हो। यो मन्दिरमा कात्तिक शुक्ल अष्टमी र नवमीका दिन भव्य मेला लाग्ने गर्दछ। यो जात्रामा हजारौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ। त्रिपुरासुन्दरीमा लाग्ने मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीसमेत आउने गरेका छन्। 

रणशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ। कार्तिक शुक्ल पक्षमा लाग्ने जात्रामा तीन रात तीन दिन जाग्राम बसेर भगवतीको पूजाअर्चना गर्ने परम्परा रहिआएको छ। त्रिपुरासुन्दरीलाई रणशैनी भगवतीको नामले समेत पूजाआजा गर्ने चलन रहिआएको छ। जात्राका लागि दशरथचन्द नगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएको थियो। 


 

कमेन्ट लोड गर्नुस