नियमकारी निकाय नीरिह :कैलालीमा उपभोग्य वस्तु तथा सेवामा हुने कालो बजारी रोकिएन
विश्व उपभोक्ता अधिकार दिवस आज सुदूरपश्चिममा पनि विभिन्न कार्यक्रम गरेर मनाईएको छ। गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार, हामी सबैको सरोकार भन्ने नाराका साथ दिवस मनाईएको हो। तर नियमनकारी निकाय नीरिह बन्दा विभिन्न वस्तु तथा सेवामा हुने कालोबजारी, महंगी तथा मिसावट गरी उपभोक्तालाई ठग्ने प्रवृत्ति नरोकिएको गुनासो गरिएको छ। सरकारी निकायले चाडपर्वका बेला मात्र बजार अनुगमन गर्ने परिपाटी कायम राख्दा कालोवजारी महंगी र खाद्यान्नमा मिसावट गरी उपभोक्तालाई ठग्ने प्रवृत्ति बढ्दै गएको छ।
उपभोक्ता संरक्षण ऐन २०७५ ले उपभोक्ताको अधिकार संरक्षण गर्न भन्दै सबै स्थानीय तह र प्रदेशमा विशेष बजार अनुगमन संयन्त्र बनाउने अधिकार दिएको छ। पुरानो कानुनलाई विस्थापीत गरी ल्याईएको ऐनमा कालोबजारी गर्ने, खाद्यान्नमा मिसावट गरी उपभोक्तालाई ठग्ने लगायतका काममा संलग्नलाई न्युनतम ६ महिना कैद र ५० हजार जरिवानादेखी पाँच वर्ष कैद र पाँच लाख जरिवाना हुने सम्मको व्यवस्था गरिएको छ।
तर नियमकारी निकाय नीरिह बन्दा विभिन्न वस्तु तथा सेवामा हुने महंगी, कालोवजारी तथा खाद्यान्नमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने प्रवृत्ति रोकिएको छैन् भने कडा भनिएको कानुन समेत कागजमै सीमित भएको छ। उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष धनपति ढुङगेलले नियमनकारी निकायले कानुनको कार्यान्वयनमा तदारुकता नदेखाउदा बजारमा कालोबजारी, महंगी, खाद्यान्नमा हुने मिसावट तथा गुणस्तरहीन वस्तुको कारोवार नरोकिएको बताए।
स्थानीय तह र प्रदेश सरकारलाई समेत विशेष संयन्त्र बनाई बजार अनुगमन गर्ने अधिकार दिईएको छ। तर बजार अनुगमन गर्ने नीकायले विगतमा जस्तै मौसमी अनुगमनलाई मात्र निरन्तरता दिएपछि उपभोक्तालाई ठगी गर्ने क्रम नरोकिएको हो। जसका कारण गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्न नपाउदा आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ। तर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले भने गुणस्तर कायम गर्न प्रयास जारी राखिएको दावी गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख सुमन धितालले गुणस्तरहीन वस्तुको कारोवार नियमन गर्न सक्रियता बढाएका बताए। तर चाडपर्व र आक्ल झुक्कल गरिने बजार अनुगमनले बजारमा हुने अनुचित, एकाधिकार र निषेधित व्यापारिक क्रियाकलापलाई भने नियन्त्रण गर्न सकेको छैन्। उपभोक्तालाई पर्ने मर्का र हानिमाथी सुनवाई नहुने गरेका कारण माफियाले उन्मुक्ति पाउदै आएका छन्।
तर कुनै पनि वस्तु तथा सेवाको कारोवार गर्दा आम उपभोक्ताले पनि सजग हुनुपर्ने सुझाव दिदै गुणस्तर तथा नापतौल कार्यालय धनगढीकी निमित्त प्रमुख वविता शर्माको छ। अर्कोतीर उपभोक्तालाई ठग्ने व्यक्ति राजनीतिक पहुचका भरमा उन्मुक्ति पाउने गरेका कारण समेत उपभोक्ताले सधै ठगिनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्।