भद्रगोल मुख्यमन्त्री कपको उद्धघाटन
सुरु नहुँदै विवादित बनेको मुख्यमन्त्री कप अन्तर्गत प्रदेश खेलकुद प्रतियोगिताको उद्धघाटन पनि भद्रगोल भएको छ। प्रतियोगिता अन्तरगत क्रिकेट र फुटवलका खेलहरु २९ गतेदेखि नै सुरु भएपनि औपचारिक उद्धघाटन भने आज मात्रै भएको हो। प्रतियोगिताको प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले उद्धघाटन गरेका हुन्। तर मुख्यमन्त्री कपको उद्धघाटन भने निकै भद्रगोल देखिएको थियो।
उद्धघाटन समारोहको कार्यक्रम सञ्चालनमा समेत आयोजक निकै रनभुल्लमा परेको थियो। उद्धघाटन समारोहको कार्यक्रम सञ्चालन कहिले सामाजिक विकास मन्त्रीका छोरा तथा अनेरास्ववियुका नेता भिष्मराज सुवेदी, कहिले सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्की त कहिले उद्धघोषीका धम्रिन्द्रा शाहले सञ्चालन गरेका थिए। फरक–फरक कार्यक्रम सञ्चालक भएपछि उद्धघाटन समारोह नै खल्लो भएको अनुभुती स्वयम् आयोजक र खेलाडीहरुलाई समेत लागेको थियो।
यस्तै कार्यक्रम सञ्चालन गर्दा अतिथिहरु पनि पटक–पटक प्रमुख अतिथि महरालाई मञ्चमा छोडेर अन्य अतिथिहरुलाई स्वागत सत्कार गर्न जाँदा उद्धघाटन समारोह नै फितलो देखिएको थियो। प्रमुख अतिथि महरालाई मञ्चमै छोडेर सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी लगायतका मन्त्रीहरु कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीलाई स्वागत गर्न गेटमा पुगेका थिए। झण्डै १५ मिनेट कार्यक्रम नै बन्द गरेर मुख्यमन्त्रीको स्वागतका लागि सुदूरपश्चिमका मन्त्रीहरु गेटमा उभिए भने प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख महरा भने मञ्चमै थिए। पहिलो पटक आयोजना गरिएको मुख्यमन्त्री कपमा उद्धघाटनका लागि गरिएका अन्य व्यवस्थापनको बारेमा पनि खेलाडी र दर्शकहरुले आलोचना गरिरहेका थिए।
उद्धघाटन कार्यक्रम सुरु गर्नुपुर्व धनगढीको ट्राफिक चौराहबाट ¥याली गरिएकाले उद्धघाटन कार्यक्रम स्थल धनगढी रंगशालामा सुरुमा केहि दर्शकहरु थिए। तर कार्यक्रम नै खल्लो हुन थालेपछि दर्शकहरु भने एकपछि अर्को गर्दै रंगशालाबाट बाहिरिएका थिए। हरेक प्रदेशबाट ९२ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ६४४ जना सहभागी हुने भनिए पनि उद्घाटन सत्रमा भने आयोजकहरु र केहि खेलाडी मात्रै सहभागी थिए। ८ बजेदेखि नै ¥याली सुरु भए पनि उद्धघाटन भने झण्डै तीन घण्टापछि ११ बजे भएको थियो।
आवश्यक तयारी पूरा नभई सुरु गरिएको उक्त प्रतियोगिता बारे दिनप्रतिदिन विवाद बढ्दै गएको छ। प्रदेश सरकारले प्रतियोगिता आयोजना गरेपनि खेलहरु न्यूनतम मापदण्ड समेत पुरा नगरि सञ्चालन भईरहेका छन्। प्रतियोगिताले खेल पर्यटनमा ठुलो टेवा पुगाउने दावी गरिएको छ तर प्रवेश निशुल्क हुँदा समेत मुख्यमन्त्री कपका विभिन्न खेलमा १०, १२ जना दर्शक समेत मैदानमा हुँदैनन्। साढे २ करोड बजेट खर्च गर्ने गरि गरिएको प्रतियोगिता निकै हतार हतार गरिएकाले मुख्यमन्त्री कपको विषयमा धेरै कमलाई चाँसो छ।