सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा आफ्नै कारणले बालकको मृत्यु भएको भारतीय पक्षद्धारा स्वीकार

क्षतिपूर्ति दिन तयार 

२०७९ कार्तिक १२, ०५:१३ खबर संवाददाता

धनगढीः दार्चुलामा बालकको मृत्युको जिम्मेवार आफू रहेको भारतीय पक्षले स्वीकार गरेको छ। शुक्रबार जिल्लाको व्याँस गाउँपालिका–२ मा भारतीय पक्षले महाकाली नदीपारि सडक निर्माण गर्ने बेला एक बालकको ज्यान गएको थियो। 

भारतले तावाघाट-लिपुलेक सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा दुम्लिङका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको हो। यस्तै १४ वर्षीया सरीना महरा घाइते भएकी छन्। अहिले उनको जिल्ला अस्पतालमा उपचार जारी रहेको बताइएको छ।

सोही घटनामा भारतीय सडक निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए। उनले भने, ‘आज (शनिबार) भारतीय पक्ष (निर्माण कम्पनी) र पीडित परिवारसँग छलफल भएको छ। भारतीयले रियलाइज (गल्ती स्वीकार) गरेको छ। क्षतिपूर्ति दिन निर्माण कम्पनी छ।’

अध्यक्ष धामीका अनुसार भारतीय कम्पनीले परिवारका बालबच्चालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने प्रारम्भिक सहमति भएको छ। तर, नीजि कम्पनी भएकाले आफूहरुलाई रोजगारी भन्दा पनि उचित क्षतिपूर्ति दिनुपर्ने परिवारको माग छ।

गर्ग एण्ड गर्ग कम्पनीले सडक निर्माणका लागि जिलेटिन विस्फोट गर्दा उछिट्टिएको ढुंगाले महराको मृत्यु भएको थियो। घटनापछि शनिबार पीडित परिवारलाई लिएर दार्चुलाका जनप्रतिनिधिको टोली छलफलका लागि भारतको धार्चुला गएको थियो। उनीहरुले अन्तराष्ट्रिय सीमा क्षेत्रमा बिना सूचना विष्फोट गराएर ज्यादती हुने गरेकोले यस्तो गतिविधि रोक्न भारतीय पक्षलाई आग्रह गरेका छन्।

यसअघि पनि भारतबाट आएका ढुंगा तथा विस्फोटको कम्पनले आफ्नो घर चर्किएको, खेत बाँझिएको र आँगनमा बाधिएका पशुवस्तु समेत मरेपछि विस्थापित भएको मृतक बालकका बुवा हिक्मतसिंह महराले बताए।
 

कमेन्ट लोड गर्नुस