सुदूरपश्चिमका हिमाल प्रवर्द्धन गर्न मन्त्री रावल समक्ष नेपाल पर्वतारोहण संघकाे चारबुँदे माग
धनगढी: नेपाल पर्वतारोहण संघ, सुदूरपश्चिम प्रदेशले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावललाई ज्ञापनपत्र बुझाउँदै प्रदेशको हिमाली पर्यटन प्रवर्द्धन तथा पर्वतारोहण क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्न आग्रह गरेको छ।
संघले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा रहेका ६ हजार मिटरभन्दा अग्ला हिमाल तथा पिकहरूको प्रोफाइल तयार पार्नुपर्ने माग गरेको छ। त्यस्तै, अपी र सैपाल हिमालमा दक्ष जनशक्तिको प्रयोग गरी आरोहण रुट पहिचान गर्नुपर्नेमा संघले जोड दिएको छ।
अपी, सैपाललगायत अन्य हिमाल तथा पिकहरूमा नयाँ आरोहण तथा पदमार्गको सम्भावना पहिचान गरी सोही स्थानमा ट्रेकिङ गाइड, पोर्टर, रक क्लाइम्बिङ तथा हिमाल आरोहणसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्ताव पनि संघले अघि सारेको छ।
त्यसैगरी अपी र सैपाल बेसक्याम्पमा विभिन्न कार्यक्रमसहित पर्यटन सप्ताह आयोजना गर्नुपर्ने माग संघको छ। यस्ता कार्यक्रमले सुदूरपश्चिमको हिमाली क्षेत्रमा पर्यटन गतिविधि बढाउनुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने संघको विश्वास छ।
संघले हिमाली पर्यटनलाई प्रदेशको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटेर आवश्यक बजेट तथा कार्यक्रम अघि बढाउन मन्त्री रावलसमक्ष आग्रह गरेको जनाएको छ।
यसअघि संघले मन्त्री रावललाई सफल कार्यकालको शुभकामना तथा बधाईसमेत दिएको थियो। संघका अध्यक्ष किशोरकुमार खड्काले प्रदेशको पर्यटन क्षेत्रको विकासमा हिमाली पर्यटनले महत्वपूर्ण योगदान पुर्याउन सक्ने बताउँदै यस क्षेत्रलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।