कैलालीको चौमाला–खैराला सडकमा १० बर्षमा ३ करोड खर्च, ट्रयाक खोल्न पनि बाँकी
कैलालीको चौमाला–खैराला सडकको ट्याक निर्माणमा १० बर्षमा ३ करोड २ लाख ५० हजार बढि रकम खर्च भएको छ। १८ किलोमिटर सडकको ट्रयाक खोल्नका लागि मात्रै ३ करोड २ लाख ५० हजार खर्च भएको हो। झण्डै दर्जन उपभोक्ता समिति गठन गरिए तर सडकको ट्रया समेत खोल्न बाँकी छ।
२०६४ चैत्र २८ गतेको सविधान सभाको निर्वाचनमा विजयी तत्कालीन माओवादीका नेता तथा यातायात मन्त्री लेखराज भट्टले चौमाला–खैराला सडकको शिलान्यास गरेका थिए। सडकको शिलान्यास गर्दै माओवादीबाट संविधान सभाको सदस्यमा निर्वाचीत भट्टले खैरालाका जनताको सडक सपना पुरा हुने बताएका थिए। १० बर्ष सम्म त्यो सपना भने पुरा भएको छैन्। १० बर्षमा १८ किलोमिटर मात्र सडकको ट्याक खोलिएको छ। गर्भा दरबार सम्म मात्र अझै साढे ६ किलोमिटर सडकको ट्याक खोल्न बाँकी छ भने पुरै ८ किलोमिटर बाँकी छ। तत्कालीन खैराला गाविसको ९ लाख, जिल्ला विकास समितिको ३ लाख र लेखराज भट्टको सासंद विकास कोषको २ लाख गरि १४ लाख रकम सडक शिलान्यास भएको आर्थिक बर्षमा ट्रयाक खोल्न खर्च भएको थियो। पहिलो बर्षमा २ किलोमिटर मात्र सडकको ट्याक खोलिएको थियो।
आर्थिक बर्ष २०६६/०६७ मा पनि डम्बर सारुमगरको अध्यक्षतामा नै उपभोक्ता समिति गठन भयो। दोस्रो आर्थिक बर्षमा १८ लाख सडक निर्माणमा खर्च भएको थियो। तत्कालीन जिल्ला विकास समितिको ६ लाख र खैराला गाविसको १२ लाख खर्च भएको थियो। १८ लाखमा तीन किलोमिटर मात्र सडकको ट्याक खोलिएको थियो। आर्थिक बर्ष २०६७/०६८ मा माओवादीका नेता शेरबहादुर सार्की (निर्दाेश) उपभोक्ता समितिका अध्यक्ष हुदा २५ लाख खर्च भएको थियो। २५ लाखमा ८ किलोमिटर सडकको ट्याक खोलिएको दावि गरिएको छ। गाविसको १० लाख र १५ लाख जिल्ला विकास समितिको खर्च भएको थियो।
आर्थिक बर्ष २०६८/०६९ मा नेपाली कांग्रेसका कृष्णबहादुर मल्ल उपभोक्ता समितिको अध्यक्ष भए। मल्लले १६ लाखको काम गरेको दावि गरेका छन्। ३ लाख ५० हजार गाविस र ७ लाख जिविसले विनियोज गरेको थियो। उनले एक किलोमिटर मात्र सडकको ट्याक खोलेका थिए। पुन आर्थिक बर्ष २०६९/०७० मा पनि उपभोक्ता समितिको अध्यक्षमा मल्ल चयन भए। उनले २५ लाखमा १० किलोमिटर सडकको ट्याक खोलिएको दावी गरे। ५ लाख गाविस र २० लाख जिविसले विनियोजन भएको थियो। आर्थिक बर्ष २०७०/०७१ मा टोपबहादुर सिजाली उपभोक्ता समितिको अध्यक्ष भए। तत्कालीन वन राज्य मन्त्री दिर्घराज भाटको सांसद क्षेत्र पूर्वाधर विकास कार्यक्रमबाट पनि रकम विनियोजन भएको थियो। ५ लाख सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रम, जिविसको २० लाख र ५ लाख गाविसबाट विनियोजन भएको थियो।
आर्थिक बर्ष २०७१/०७२ मा प्रेम गुरुङ उपभोक्ता समितिको अध्यक्ष चयन भए। उनले पनि ३९ लाख ५० हजार खर्च गर्नु गरे। सोही आर्थिक बर्षमा सडक डिभिजन कार्यालयको ६५ लाखको सडक निर्माणको ठेक्का भयो। ६५ लाखमा निर्माण कम्पनीले ५ सय मिटर मात्र चट्टान फुटाएको थियो। पुनः गुरुङ नै २०७२/०७३ मा उपभोक्ता समितिको अध्यक्ष चयन भए।
२०७३/०७४ मा भने सडक निर्माणको काम भएन्। निर्वाचनको कारण बजेट विनियोजन नभएको हो। आर्थिक बर्ष २०७४/०७५ मा गौरीलाल दियाकोटी र चन्द्रबहादुर लामिछाने उपभोक्ता समितिको अध्यक्षमा चयन भए। चुरे गाँउपालिकाको ३० लाखको उपभोक्ता समितिको अध्यक्षमा लामिछाने र २० लाख वडा कार्यालयको रकमको उपभोक्ता समितिको अध्यक्षमा दियाकोटी भए। पुनःसडक डिभिजन कार्यालयले प्रादेशिक सडकका लागि सडकको सर्भे गरेको बुझिएको छ। तर कामको बारेमा स्थानीय तहका जनप्रतिनिधि अनभिज्ञ छन्।
चालु आर्थिक बर्ष २०७५/०७६ मा एक करोड २ लाखको चुरे गाँउपालिकाले टेण्डरमा दिएको छ। प्रदेश पूर्वाधार कार्यक्रमको २० लाख र प्रदेश भौतिक मन्त्रालयको ३० लाखको उपभोक्ता समिति पनि गठन गरिएको छ। तर त्यो समिति गोप्य राखिएको छ।