कञ्चनपुरका नौ सिटमा १९ जना उम्मेदवार स्वतन्त्र, भन्छन् ‘नेतासँग वाक्कदिक्क भयौँ’
धनगढी: संघमा ३ र प्रदेशतर्फ ६ निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा १९ जनाले संघ र प्रदेशतर्फ स्वतन्त्र उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने दाबी गरिए पनि स्वतन्त्र उम्मेदवारहरूले आफूहरू पनि बलियो नै रहेको दाबी गरेका छन्। स्वतन्त्र उम्मेदवारहरूले राजनीतिक दलका नेतासँग जनता वाक्कदिक्क भएकाले चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।
गठबन्धन र एमालेले जित्न सहज होस् भनेर सबै क्षेत्रमा बलियो र लोकप्रिय उम्मेदवार उठाएको दाबी गरेका छन्। तर सत्ता गठबन्धन दल र नेकपा एमालेसँग असन्तुष्ट भएका कञ्चनपुरका १९ जनाले संघ र प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दर्ता गरेर आफ्ना लागि भोट माग्न थालेका छन्। सत्ता गठबन्धन, नेकपा एमाले, राप्रपा लगायतका दलहरूले आधिकारिक उम्मेदवार उठाएका भए पनि तिनै दलका समर्थकहरूले पार्टी निर्णयमा विमति जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका छन्। कञ्चनपुरमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार क्षेत्र नम्बर ३ मा रहेका निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज पन्तले बताए।
'कञ्चनपुरमा १९ जना स्वतन्त्र उम्मेदवार रहेका छन्, जसमध्ये क्षेत्र नम्बर ३ को १ मा सबैभन्दा बढी ५ जना स्वतन्त्र उम्मेदवार छन्,' उनले भने, 'कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा ३ जना, १ को प्रदेश (१) मा एक जना र १ को (२)मा २ जना, क्षेत्र नम्बर २ मा १ जना, २ को (१) मा २ जना, क्षेत्र नम्बर ३ मा ४ जना, ३ को (१) मा ५ जना र (२) मा १ जनाको स्वतन्त्र उम्मेदवारी रहेको छ।'
कञ्चनपुरमा नेकपा एमालेका आधिकारिक उम्मेदवार विरुद्ध चार जनाले बागी उम्मेदवारी दर्ता गरेका छन्। उनीहरूलाई नेकपा एमालेले कारबाही गरेको जनाएको छ। यस्तै निर्वाचन क्षेत्र नम्बर ३ को संघतर्फ नेपाली काँग्रेसका दीपकबहादुर सिंह र शारदा चन्द स्वतन्त्र उम्मेदवार भएका छन्। यस्तै निर्वाचन क्षेत्र नम्बर ३ को (१) ५ जना स्वतन्त्र उम्मेदवार छन्। गोपालसिंह बुढापाल, दिवान मेजार, महादेव भट्ट, लोकविक्रम थापा र पिताम्बर जोशी प्रदेशतर्फ उम्मेवार छन्। पार्टीले सक्षमलाई टिकट नदिएर नातावाद, कृपावाद र धनवाद हेरेकाले स्वतन्त्र उम्मेदवारी दिएको शारदा देवी चन्दको भनाइ छ।
'पार्टीमा नातावाद हावी भयो, त्यसैले स्वतन्त्र भएर संघमा उम्मेदवारी दिएकी हुँ,' उनले भनिन्, 'पार्टी र नेताहरूले काम र क्षमताको मुल्याकंन नगर्दा स्वतन्त्र हुनु परेको हो।' राजनीतिक दलका नेताहरुका कारण मतदाता निरास भएको स्वतन्त्र उम्मेदवारले बताएका छन्। उर्जाशील तथा मेहेनतीलाई पार्टीहरूले बेवास्ता गर्दा स्वतन्त्र उम्मेदवारी दिने संख्या बढ्न थालेको बताइएको छ।
युवाहरू पढेलेखेको, सक्षम र मेहेनती भए पनि चुनावमा उम्मेदवार हुने अवसर ठुला पार्टीले नदिएकाले जिल्लामा पार्टी छोडेर स्वतन्त्र उम्मेदवार हुने संख्या बढेको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को (२) बाट नेपाली काँग्रेस (वीपी) का उम्मेदवार रहेका नारायणदत्त बोहराले बताए।
'पार्टीका नेताहरूका कारण अवसर नपाउँदा युवाहरू स्वतन्त्र बनेका हुन्,' उनले भने, 'युवाहरू योग्य छन्, पढेलेखेको र मेहनती छन् तर नेताहरूका कारण ओझेलमा परेका छन्, तर यो पटक खुलेल स्वतन्त्र उम्मेदवार बन्ने लहर चल्नु स्वाभाविकै हो।'
दलहरूले पूरानै व्यक्तिलाई पटकपटक दोहर्याउदा नयाँ पुस्ताले अवसरबाट बञ्चिन हुनु परेको भन्दै सुदूरपश्चिमका सबै जिल्लामा स्वतन्त्र उम्मेदवारी परेको छ।