धनगढी उप–महानरपालिकाले सीपमुलक तालिममा गर्ने लाखौँ लगानी बालुवामा पानी
धनगढी उप–महानरपालिकामा सीपमुलक र सशक्तिकरण कार्यक्रममा गरिने खर्च बालुवामा पानी जस्तै भएको छ। उप–महानगरपालिकाले सीपमुलक तालिम र सशक्तिकरण कार्यक्रमका लागि एक बर्षमै बार्षिक करोडको हाराहारीमा बजेट खर्च गर्दै आएको छ। तर तालिम पाएर स्वरोजगार कति बने भन्ने विषयमा स्वयम उप–महानगरपालिका पनि अनभिज्ञ छ।
धनगढी उप–महानगरपालिकामा सामुदायिक विकास शाखा प्रमुख टंक विष्टलृे उप–महानरपालिकासंग सीपमुलक र सशक्तिकरण कार्यक्रम अन्तरगत तालिम पाएकाहरुको अवस्थाको विषयमा कुनै जानकारी समेत नभएको बताए। धनगढी उप–महानगरपालिकाले गत आर्थिक बर्षमा ती कार्यक्रम सञ्चलनका लागि विभिन्न संघ सस्थाहरुलाई ९० लाख बजेट बाडेको थियो। झण्डै २ हजार जनाले विभिन्न सीपमुलक तालिम पनि पाएका थिए। तर तालिम पाएका २ हजार मध्ये कति जना स्वरोजगार भए, कत्तिले काम पाए र तालिम पाएकाहरुको अवस्था के छ भन्ने विषयमा उप–महानगरपालिका आँफै अनभिज्ञ देखिएको छ। सीपमुलक तालिमका लागि विनियोजन भईरहेको बजेटको सदुपयोग नभएको धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरी पनि स्वीकार गर्छन्।
विपन्न समुदायको जिविकोपार्जनमा सजिलो होस भन्ने उद्येश्यले तालिम सञ्चालन गरिएपनि तालिमबाट अहिले सम्म कुनै फाईदा नै लिन नसकेको उनले स्वीकार गरे। उनले कस्तो तालिम बजारमा बिक्छ भन्ने विषयमा पनि अध्ययन नहुँदा समसया भएको बताए। धनगढी उप–महानगरपालिकाकै श्रोतका अनुसार गत बर्ष सिपमुलक तालिम सञ्चालनका लागि छनौट भएका अधिकांश सस्थाहरुका सञ्चालक जनप्रतिनिधिका निकटका व्यक्ति थिए। कतिपय सस्थाले त एक भन्दा बढि छुट्टा छुटै कार्यक्रम सञ्चालनका लागि पनि रकम पाएका थिए। उप–महानगरपालिकाले ३÷३ महिनाका तालिम सञ्चालन गर्ने भन्दै आर्थिक बर्षको अन्त्यमा रकम बाडेको थियो। जस्ले गर्दा तीन महिनाको तालिम पनि १५ दिनमै सकेर बजेट पचाईएको थियो। हतारमा सञ्चालन गरिएका तालिमहरु प्रभावकारी नहुँदा उपलव्धी नदेखिएको हो। त्यसैमा तालिम पाउनेहरु पनि साच्चीकै सोही काम गर्नेहरु भन्दा पनि जनप्रतिनिधि निकटका व्यक्तिहरु मात्रै भएकाले उपलव्धी नदेखिएको हो।
धनगढी उप–महानगरपालिकाले बार्षिक रुपमा सीपमुलक र सशक्तिकरण कार्यक्रम अन्तरगत विभिन्न तालिम सञ्चालन गर्न झण्डै करोड बजेट खर्च गर्दै आएको छ। न्युनतम २० हजारदेखि अधिकतम ५ लाखसम्मका एउटै कार्यक्रम वाड्ने परिपाटी छ। एउटै सीपमुलक तालिममा १० देखि ८० जनासम्म सहभागी गराउने सम्झौता पनि गरिएको हुन्छ। बार्षिक रुपमा गरिने झण्डै करोड बजेटको उपलव्धी के कस्तो भयो भन्ने विषयमा खोजविन अहिले सम्म उप–महानगरपालिकाले गरेको छैन्। लक्षित बर्गलाई जिविकोपार्जनमा सजिलो होस भन्ने उद्येश्य भन्दा पनि जनप्रतिनिधिहरुलाई कार्यकर्ता पोस्ने मेसो मात्रै हुन थालेपछि सीपमुलक तालिम प्रभावकारी हुन नसकेको हो। तर धनगढी उप–महाानगरपालिकाका उप मेयर सुशिला मिश्र भट्टले भने तालिम दिएपनि उनीहरुसंग श्रोत साधन नहुँदा समस्या भएको बताए।
उनले वडा–वडामा रोजगार केन्द्र सञ्चालन गरि सीपमुलक तालिमको प्रभावकारीता बढाउने तयारी भईरहेको बताए। तर कार्तिक, मंसिरमै कार्यान्वयनमा आउनुपर्ने कार्यक्रम चालु आर्थिक बर्षमा पनि फागुन सकिनै लाग्दा समेत सुरु हुन सकेका छैनन्। बर्षको अन्त्यमा आफु निकटका संघ सस्थालाई बाड्ने परिपाटी यो बर्ष पनि जारी रहने त होईन भन्ने आशंका बढिरहेको छ। जनप्रतिनिधि आएपछि त नेता कार्यकर्ताहरुलाई पोस्नका लागि सिपमुलक तालिम मार्फत रकम वाड्ने परिपाटी झनै मौलाएको छ।