दुर्गापुजाको भोज खाएपछि गाउँभर झाडापखालाको प्रकोप, ७५ जना बिरामी
काठमाडौंः पश्चिमनवलपरासीको रामग्राम नगरपालिका वडा नं १८ पम्फापुरमा दुर्गा पुजा समापनकाको भोज खाएका ७५ जना बिरामी परेका छन्। उनीहरुमा झाडापखाला र भाइरल ज्वरोको प्रकोप फैलिएपछि नगरपालिकाले फिल्डमै स्वास्थ्य उपचारको टोली राखेर उपचार गरेको छ।
गाउँ नै प्रकोपबाट प्रभावित भएपछि नगर प्रमुख धनपत यादव उपप्रमुख सम्झना चौधरीको स्वास्थ्य टोली लिएर बुधबार नै पुगेका थिए। सो गाउँमा रहेका १२५ जनालाई तत्काल उपचार गरिएको र उनीहरुमध्ये गम्भीर बिरामी ४ जनालाई थप उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा ल्याइएको उपप्रमुख चौधरीले नेपाल प्रेसलाई बताइन्।
रामलखन भर, विन्द्रावती मल्लाह र वन्वन्ती हरिजनको अवस्था गम्भीर रहेकाले नगरपालिकाले एम्बुलेन्समार्फत थप उपचारका लागि परासी ल्याएको चौधरीले बताइन्। बालबालिकादेखि वृद्धवृद्धासम्म गाँउका सबै विरामी भएपछि नगरपालिकाले तत्काल निर्णय गरेर उक्त स्थानमा स्वास्थ्य शिविर संञ्चालन गरेको उनको भनाइ छ।
शिविर राखिएपछि अहिले त्यहाँको अवस्था सामान्य भएको र गम्भीर बिरामीको परासीमा उपचार भइरहेको उनले बताइन्।