मतदाता भन्छन्– विकास गर्नेलाई मंसिरमा मतदान
धनगढी: आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता भएको छ। विभिन्न दल र स्वतन्त्रसहित प्रदेशभर प्रतिनिधि सभाको १६ स्थानका लागि एक सय ४३ जनाको उम्मेदवारी परेको छ। यस्तै प्रदेश सभाको प्रत्यक्षतर्फ ३२ निर्वाचन क्षेत्रमा २ सय ३० जनाले उम्मेदवारी दर्ता गरेका छन्।
दल तथा स्वतन्त्र उम्मेदवारी दर्ता गरेकाहरू चुनावी प्रचारप्रसारमा जुट्न लागेका छन् भने मतदाताले पनि मंसिर ४ को व्यग्र प्रतिक्षामा रहेको बताएका छन्। मंसिर ४ मा विकास गर्न सक्ने उम्मेदवारलाई भोट हाल्ने धनगढी–४ का रामअवतार रानाले बताए। ‘मैले विकास गर्न सक्नेलाई भोट हाल्ने सोच बनाएको छु,’ उनले भने, ‘धनगढीमा डुबान हुन्छ। यहाँ थुप्रै समस्या छन्। सबै क्षेत्रमा काम गर्न सक्ने उम्मेदवारलाई विचार गरेर भोट हाल्ने हो।’
मतदाताले विकास निर्माण गर्न आफ्नो क्षेत्रमा बजेट ल्याउन सक्ने उम्मेदवारको पहिचान गरेर मत हाल्ने बताएका छन्। सरल र सहज व्यवहार भएको सबैले सजिलै आफ्ना कुरा राख्न सक्ने उम्मेदवारलाई मतदान गर्ने अधिकांश मतदाताको भनाइ छ। यो पटक पार्टी नहेरेर सोच विचार गरि मतदान गर्ने कञ्चनपुरको कृष्णपुरका मतदाता राजेन्द्र लुहारको भनाइ छ। ‘यो पटक पार्टी हेरेर होइन उम्मेदवार हेरेर मतदान गर्ने सोच बनाएको छु,’ उनले भने, ‘हाम्रो क्षेत्रमा पूरानै उम्मेदवार उठेका छन् तर सक्षमलाई भोट दिने सल्लाह भएको छ।’
राजनीतिक विश्लेषकहरूले भने बहुदलीय व्यवस्था र मान्यताको प्रतिकूल हुने गरि राजनीतिक दलहरू निर्वाचनमा होमिएको तर्क गरेका छन्। बहुदलीय संसदीय व्यवस्थामा बहुमत प्राप्त दलले सरकार सञ्चालन गर्छ।
तर नेपालमा भने गठबन्धनको संस्कृति बहुदलीय संसदीय मान्यताको विपरित विकास गर्न खोजिएको राजनीतिक विश्लेषक यज्ञराज जोशीले बताए। ‘सबै दल गठबन्धन गरेर आएका छन्, यो गठबन्धनको संस्कृति विकास गर्नु खोज्नु संविधान र बहुदलीय संसदीय मान्यता विपरित हो,’ उनले, ‘दलहरू संविधानतः फेल भएका छन् तर मिलिजुली सरकार बनाउने, सत्ता उपभोग गर्ने काम हुन्छ। जसले जिते पनि आउने ५ वर्षमा पनि खासै जनताको पक्षमा काम होला भन्न सकिने अवस्था देखिादैन।’