धनगढी उपमहानगरपालिकाका १४ वटा सटर भाडामा लगाउन ढिलाई
व्यवसायिक भवन निर्माण नहुँदा २१ लाख गुम्यो
धनगढी उपमहानगरपालिकाको नयाँ व्यवसायिक भवन निर्माण सम्पन्न हुँदा १४ वटा सटर भाडामा लगाउन ढिलाई भएको छ । नयाँ व्यवसायिक भवन निर्माणमा ढिलाई हुँदा सटर भाडामा दिन समस्या भएको हो । निर्माण कम्पनीले समयम निर्माण सम्पन्न गर्न नसक्दा धनगढी उपमहानगरपालिकाले मासिक भाडा वापत पाउने साढे दुई लाख बढी राजश्व गुमिरहेको छ । गत साउनदेखि भाडामा लगाउने योजना बनाईएकोमा हालसम्म पनि भवन निर्माण नसकिदा २१ लाख ३६ हजार राजश्व धनगढी उपमहानगर पालिकाले गुमाएको छ । आर्थिक बर्ष २०७३÷७४ देखि निर्माण सुरु गरिएको धनगढी उपमहानगरपालिकाको नयाँ व्यवसायिक भवन हालसम्म पनि निर्माण सम्पन्न भएको छैन् ।
चालु आर्थिक बर्षको सुरुमा नै भवन हस्तान्तरण हुने आशा सहित त्यहाँ रहेका १४ वटा सटरहरु भाडामा दिनका लागि गत आर्थिक बर्षको जेठमा नै सुचना जारी भएको थियो । तर चालु आर्थिक बर्षको आठ महिना हुँदा पनि व्यवसायिक भवन निर्माण सम्पन्न भएको छैन् । जस कारण आठ महिनादेखि १४ वटा सटर भाडामा लगाउन सकिएको छैन् । पटक पटक म्याद थपेर पनि व्यवसायिक भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण हुन नसक्दा भाडामा लगाउन ढिलाई भएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए ।
व्यवसायिक भवनमा व्यवसाय सुरु गर्नका लागि भाडा लिनका लागि टेण्डर हालेकाहरु पनि भवन निर्माण नहुँदा मर्कामा परेका छन् । व्यवसाय गर्नका लागि तयारी अवस्थामा वस्दा वस्दै पनि लामो समयदेखि सटर भाडामा पाउन नसकेका कारण समस्या भएको टेण्डर हालेका व्यवसायीहरु बताउँछन् । एक जना सटर पाउने आरसी कापडीले लामो समयदेखि लाखौं रकम धरौटी राख्दा पनि सटर नपाउँदा समस्या भएको बताए । १४ वटा नयाँ सटरमा १४ हजारदेखि साढे २२ हजारसम्म प्रति सटरको भाडा हालिएको छ । यो हिसावले एक महिनामा दुई लाख ६७ हजार राजश्व धनगढी उपमहानगरपालिकाले प्राप्त गर्नेमा आठ महिनामा २१ लाख ६७ हजार भाडा वापतको रकम प्राप्त गर्ने थियो । भवन निर्माण भएर हस्तान्तरण नहुँदा यो राजश्व गुमेको छ । तर अव चैतसम्म निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी काम अगाडी बढाईरहेको निर्माण कम्पनी सावद कन्ट्रक्सनका सञ्चालक धिरेन्द्र सावदले दावी गरे ।