सुदूरपश्चिमका मन्त्रालयका नम्बर टेलिकमको जाँच कक्षमा दर्ता छैन
सुदूरपश्चिमका कुनै पनि मन्त्रालयको टेलिफोन नम्बर नेपाल टेलिकमको जाँच कक्षमा दर्ता नहुँदा प्रदेशवासी समस्यामा भएको छ। नेपाल टेलीकमबाट नम्वर माग्दा प्रदेशका मन्त्रालयहरुको टेलिफोन नम्वर नै नपाउने समस्याले प्रदेशवासी आजित भएका हुन्। सुदूरपश्चिम प्रदेश सरकारका कतिपय मन्त्रालयहरुको टेलिफोन नम्बरहरु एक बर्ष हुँदा पनि अर्काे कार्यालयको नाममा दर्ता रहेको पाईएको छ। जस्ले गर्दा सेवाग्राहीले फोन गर्दा पनि समस्या भोग्नु परेको छ।
सुदूरपश्चिम प्रदेश सरकार गठनको एक बर्ष बढी हुँदा पनि मन्त्रालयहरुमा समेत सहि टेलिफोन प्रयोग हुन नसकेको हो। सुदूरपश्चिम प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रयोग गर्ने टेलिफोन नम्बर अर्काे कार्यालयको नाममा दर्ता छ भने, अन्य मन्त्रालयका टेलिफोनहरु जनताले टेलिकमको ईनक्वाइरी सेवाबाट पाउँदैनन्। सुदूरपश्चिमको भुमि व्वस्था, कृषि तथा सहकारी मन्त्रालयले सहकारी डिभिजन शाखा कार्यालय धनगढीको ०९१–४१७२२५ को टेलिफोन प्रयोग गर्दै आएको छ। अन्य मन्त्रालय तथा स्थानीय तहका टेलिफोन नम्बरहरु नेपाल टेलिकमको ईनक्वाइरी सेवा १९७ संग छैन्। १९७ मा फोन गर्दा नम्बर नरहेको सूचना आउँछ। उनीहरु भन्छन,–सुदूरपश्चिमका मन्त्रालयहरुको फोन नम्बरहरु छैन्।
सुदूरपश्चिम प्रदेश सरकारसँग सम्बन्धित रहको प्रदेश सचिवालयको नम्बर मात्र टेलिकमको ईनक्वाइरी सेवाबाट पाईन्छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय संगै मन्त्रालयमा प्रयोग हुदै आएका टेलिफोनहरु अर्काे व्यक्ती वा कार्यालयको नाममा दर्ता रहेका छन्। नेपाल टेलिकमको धनगढी कार्यालय र मन्त्रालयको वेवास्थाका कारण ईनक्वाइरी सेवासँग नम्बर नभएका हुन्। ईनक्वाइरी सेवामा सुदूरपश्चिम प्रदेशका स्थानीय तहका नम्बरहरु पनि छैन्।
मन्त्रालयहरुले टेलिफोन र फ्याक्सका लागि कम्तिमा दुई टेलिफोन नम्बरहरु प्रयोग गर्दै आएका छन्। मन्त्रालय मातहतका महाशाखा, शाखा, विभागहरु तथा कार्यालयहरुका पनि टेलिफोनहरु छन्। तर टेलिकमलाई जनताले मन्त्रालयको टेलिफोनका नम्बर माग्दा पाईदैन। यता नेपाल टेलिकम सुदूरपश्चिमका प्रमुख सुरतबहादुर मल्लले एक हप्ता भित्र मन्त्रालयका फोनहरु सुधार हुने बताए। उनले मन्त्रालयहरुले व्यक्ती वा कार्यालयहरुका नम्बर प्रयोग गर्दा समस्या भएको गुनासो गरे।