बैतडीमा यात्रु सहायता कक्षबाट ३ हजार बढीले लिए सेवा
धनगढी: बैतडीमा यात्रु सहायता कक्षबाट तीन हजार बढीले सेव लिएका छन्। जिल्लामा चाडपर्वलाई लक्षित गरी स्थापना गरिएका यात्रु सहायता कक्षबाट दसैँको अवधिमा ३ हजार बढीले सेवा लिएका हुन्।
असोज पहिलो सातादेखि १९ गतेसम्म ३ हजार ११९ जनाले सेवा लिएको बताइएको छ। दसैँका बेला यात्रुहरुलाई गन्त्व्यमा पुग्न सहज होस् भनी जिल्लाका सात ठाउँमा स्थापना गरिएका यात्रु सहायता कक्षबाट सेवा दिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरीका अनुसार गोठलापानीको यात्रु यहायता कक्षबाट ७७५ जना, झुलाघाटबाट १ हजार २८७ जना, सतबाँझबाट १८० जना, पाटनबाट ११५ जना, खोचलेकबाट १६० जना, गोकुलेश्वरबाट ४०२ र खोड्पेबाट २ सय जनाले सेवा लिएका छन्। यात्रु सहायता कक्षबाट ट्राफिक प्रहरी, नेपाल प्रहरी र यातायात व्यवसायीका प्रतिनिधिहरुले सेवा दिइरहेका छन्।
यात्रु सहायता कक्षबाट छठ पर्वसम्म सेवा दिइने जनाइएको छ। यात्राका क्रममा कुनै समस्या परे नजिकका सहायता कक्षमा सम्पर्क राख्न भनिएको छ।