बैतडीको उदयदेव मन्दिर परिसरमा देउडा प्रतियोगिता
धनगढी: बैतडीको पाटनस्थित प्रसिद्ध सिद्धनाथ–उदयदेव मन्दिर परिसरमा देउडा प्रतियोगिता सुरु भएको छ। पाटन नगरपालिकाको आर्थिक सहयोग र प्रतिष्ठित धामी समूहको आयोजनामा देउडा प्रतियोगिता गरिएको नगरपालिकाका उपमेयर कमलसिंह बोहराले बताए।
उत्कृष्ट प्रतियोगिलाई पुरस्कृत गरिने उनले बताए। प्रसिद्ध ‘मैतडकी जात’ नहुने भएपछि राखिएको देउडा कार्यक्रम भोलि सम्पन्न हुने बताइएको छ। मन्दिरका मुख्य पूजारीका जेठा छोराको निधन भएको र मुख्य पूजारीको विकल्पमा रहेका अर्का पूजारी शिवदत्त जोशी पनि अस्वस्थ रहेका कारण पूजा गर्न नसकिने भएपछि ‘मैतडकी जात’ रोकिएको सिद्धनाथ–उदयदेव धार्मिक सेवा समितिका अध्यक्ष लालबहादुर चन्दले बताए।