बैंक ब्याजदर तत्काल नघटे सडक संघर्ष गर्ने चेतावनी
बैंकको ब्याजदर तत्काल नघटे सडक संघर्ष गर्ने व्यापारीहरुले चेतावनी दिएका छन्। राष्ट्रिय व्यवसायी महासंघले चर्को ब्याजदरका कारण व्यापारीहरु मारमा परेको भन्दै यस्तो चेतावनी दिएको हो।
बैंकको ब्याजदर आकासिएका कारण व्यवसाय गर्नै मुश्किल परे पनि सरकारले गम्भीर रुपमा नलिएको महासंघका अध्यक्ष नरेश कटुवालले बताए। मन्त्री तथा विभिन्न निकायका हाकिमहरुलाई भेटेर यस विषयमा गुनासा राख्दा सम्वोधन नभएको उनको गुनासो छ। सोमबार नै पत्रकार सम्मेलन गरेर आफ्ना माग र आन्दोलनका कार्यक्रमहरुबारे प्रष्ट पारिने समेत महासंघ अध्यक्ष कटुवालले जानकारी दिएका छन्।
विभिन्न ९ वटा बुँदाहरु अघि सारेर प्रेस वक्तव्य जारी गर्ने तयारी भइरहेको समेत उनले बताए। केरुङ नाकामा जान व्यवसायीहरुलाई गाह्रो परेको विषय पनि महासंघले उठाउन लागेको छ। केरुङ नाकामा गएर व्यवसायीहरुलाई निर्वाध रुपमा सामान खरिद गरेर ल्याउन ठूलो समस्या रहेको तर सरकारले यसलाई बेवास्ता गरेको कटुवालले बताए। यस विषयमा परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदासमेत बेवास्ता भएको उनको भनाइ छ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधिक समीक्षामार्फत राष्ट्र बैंकले ब्याजदरको समस्या समाधान गरेको दावी गरिरहे पनि उद्योगी(व्यवसायीहरु भने सन्तुष्ट हुन सकेका छैनन्। ७ प्रतिशतमा लिएको कर्जा दोब्बर बढेर १४ प्रतिशतसम्म पुगेको भन्दै उनीहरुले आपत्ति जनाइरहेका छन्।