सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको सरसफाइमा चरम लापरबाही, कर्मचारीले बिरामी थर्काउने गरेको गुनासो

२०७९ असोज १४, १०:१५ नारायण अवस्थी

धनगढी: धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत बिरामी र तिनका कुरूवाले अस्पतालमा सरसफाइको कमी रहेको गुनासो गरेका छन्। हुन पनि प्रदेशकै सबैभन्दा ठुलो र प्रदेश सरकार मातहतको सेतीमा बिरामी र कुरुवाले गुनासो गरेजस्तै सरसफाइमा समस्या रहेको देखिएको छ। 

अस्पतालका वार्डमा रहेका शौचालय निकै दुर्गन्धित छन् भने भित्तामा जथाभावी थुकेको देख्न सकिन्छ। अस्पतालका शौचालय फोहर र दुर्गन्धित मात्रै छैनन् ढोकासमेत नभएको पाइएको छ। अस्पतालको शौचालयल प्रयोग गर्दा निकै सास्ती हुने एक बिरामीले बताए। ‘अस्पतालका विभिन्न वार्डमा रहेका शौचालय फोहर छन्। कुनै गुनासो गरे कर्मचारीले थर्काउछन्’  उनले भने। 

अस्पतालको आइसीयू ‘बी’ मा कुरुवाले दुःख पाइरहेको बताएका छन्। दश जना बिरामीका कुरुवा बस्न बनाइएको भवनमा पानी पर्दा कोठाभित्रै पानी आउँछ भने रातदिन लामखुट्टेले टोकेर हैरान बनाउने कुरुवाले बताएका छन्। 

कुरुवा बस्ने कोठाको ढोकामा जाली नहुँदा लामखुट्टेले तथा बाहिरको दुर्गन्धले बस्न मुस्किल हुने गरेको गुनासो आइसियू वार्डमा भेटिएका विरामीका आफन्तले बताए। ‘अस्पतालका विभिन्न वार्डका शौचालय मात्रै होइन कुरुवा बस्ने घर पनि दुर्गन्धित छ,’ उनले भने, ‘पानी पर्दा कोठामा पानी भरिन्छ। लाम्खुट्टेले टोकेर सताउँछन्। दुर्गन्ध पनि उस्तै छ।’ 

यता सेती अस्पताल व्यवस्थापन समितिले भने सरसफाइमा तुरुन्त सुधार गर्ने जनाएको छ। अस्पतालमा अत्यधिक बिरामी हुने, बिरामीसँगै कुरुवा पनि हुने र तिनले जथाभावी थुक्ने हुँदा दिनमा पटकपटक सफाइ गर्दा पनि फोहर देखिने गरेको समितिको भनाइ छ। शौचालय तथा कुरुवा बस्ने घरको समस्या समाधान गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए। ’फोहर हुनुको कारण अत्यधिक मान्छे हुनु पनि हो। अस्पतालमा आउनेले पनि जथाभावी फोहर गर्छन्,’ उनले भने, ‘शौचालयको र कुरुवा बस्ने घरको समस्या समाधन गर्न हामी काम गर्नेछौँ।’

सेती अस्पतालमा उपचार गराइरहेका बिरामीले अस्पतालमा कार्यरत कर्मचारीले थर्काउने गरेको पनि गुनासो गरेका छन्। बिरामीलाई सान्त्वना दिनुपर्ने ठाउँमा हतोत्साहित बनाएर निजी अस्पताल पठाउने प्रपञ्च रच्ने गरेको बिरामीहरूको गुनासो छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस