सुदूर नेपाललाई विश्वसँग जोड्दै

नाइजर र नाइजेरियामा गरी ११ जना किसानको गोली हानेर हत्या

२०७९ असोज ६, ०९:५१

एजेन्सी: नाइजर र नाइजेरियामा गरी ११ जना किसानको गोली हानेर हत्या भएको छ। नाइजरका ९ जना र नाइजेरियाका २ जना किसानलाई गोली हानेर हत्या गरिएको समाचार संस्था एएफपीले जनाएको छ।

हत्या गरिएका सबै ११ जना जङ्गलमा दाउरा काट्न गएका थिए। घटनामा जिहादी लडाकु समूहको संलग्नता रहेको खबरमा उल्लेख छ। घटना क्यामरून, चाड, नाइजर र नाइजेरिया गरी चार देशको सीमा क्षेत्रमा भएको हो। जिहादी समूह बोको हराम र यसको प्रतिद्वन्द्वी इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रोभिन्सले लेक चाड क्षेत्रका धेरै साना टापुहरूमा आफ्नो अखडा स्थापना गरेका छन्।

गएको अगस्ट अन्त्यमा उनीहरूले स्थानीय बासिन्दालाई टापु छोड्न आदेश दिएका थिए र पालना नगर्ने केही मानिसको हत्या गरेका थिए। संयुक्त राष्ट्र सङ्घको मानव विकास सूचकाङ्कको मापदण्डका आधारमा विश्वको सबैभन्दा गरिब देश नाइजर सन् २०१२ मा उत्तरी मालीमा सुरु भएको जिहादी विद्रोहको चपेटामा परेको छ। 

कमेन्ट लोड गर्नुस