सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अनशनरत डाक्टर गोविन्द केसीलाई सुदूरपश्चिम सरकारको साथ

२०७९ असोज ४, १२:५१ रोशन भट्ट

धनगढीः चिकित्सा शिक्षा सुधारका अभियान्ता मानिएका डाक्टर गोविन्द केसी धनगढीमा छन्। विभिन्न ७ बुँदे माग राख्दै सत्याग्रह बस्नका लागि डाक्टर केसी धनगढी पुगेका थिए।

उनी अनशन बसेको मंगलबार ९ दिन पुग्यो। धनगढीको कृष्ण मन्दिरमा अनशन बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ। अहिले चिकित्सकको निगरानीमा उनी सत्याग्रहमा छन्। 

अहिले उनको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। सेती अस्पतालले त सोमबार नै डाक्टर केसीलाई विशेषज्ञ सेवा भएको विशिष्टिकृत अस्पताल लैजान आग्रहसमेत गरेको थियो। अस्पतालका मेसुु डाक्टर हेमराज पाण्डे भन्छन्, ‘डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल छ। हाम्रो क्षमताले उनको उपचार गर्न भ्याउदैन। स्थानीय प्रशासन र प्रदेश सरकारलाई अन्यन्त्र लैजान आग्रह गरेका छौं।’ अस्पतालमा रहेका डाक्टर केसीलाई टाउको दुख्ने, रिँगटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, शरीरका मांशपेसी दुख्नेलगायत समस्या देखिन थालेको छ।

डाक्टर केसीले स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै अनशन कसेको यो २०औँ पटक हो। अहिलेसम्म सरकारी निकायबाट अनशनको सुरुवातमै डाक्टर केसीले साथ पाएका छैनन्। उनको स्वास्थ्य अवस्था बिग्रिएपछि अन्तिम समयमा सरकारले चासो दिने गरेको थियो।

यसअघि १९ पटकसम्म सरकार र डाक्टर केसी पक्षको वार्ता भएको छ। तर वार्तामा माग सम्बोधन गर्ने भनिएपनि कार्यान्वयन हुन सकेको छैन। त्यसकै कारण डाक्टर केसी २०औँ पटकको अनशन बस्न धनगढी पुगेका हुन्। 

यो पटकको अनशनमा भने उनलाई सुदूरपश्चिम प्रदेश सरकारको साथ मिलेको छ। आफ्नो क्षेत्रात्रिकारभित्र पर्ने मागहरु सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोबिन्दराज बोहराले बताए। ‘डाक्टर केसीले उठाएका मागहरुप्रति हाम्रो सहानुभूति छ,’ उनले भने, ‘प्रदेश सरकारको क्षेत्राधिकार भित्र पर्ने मागहरु सम्बोधन गर्न हामी प्रयास गर्छौ।’

अस्पतालमै रहेका केसीलाई भेट्नका लागि मंगरबार प्रदेश सरकारको टोली पुगेको थियो। सामाजिक विकास मन्त्री बोहरासहित प्रदेश सचिव दीपक लामिछाने, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर जगदिश जोशी लगायत प्रदेश सरकारको टोली सेतीमा प्रादेशिक अस्पतालमा पुगेको हो। 

मन्त्रीसमेतको टोलीले डाक्टर केसीको स्वास्थ्य अवस्था बुझ्दै थप उपचारका लागि बाहिर लग्न पनि सहयोग गर्ने जनाएको छ। साथै उनले उठाएका मागहरु संघीय सरकारले सम्बोधन गर्न आफूले आग्रह गरेको सामाजिक विकास मन्त्री बोहराले बताए। ‘हाम्रो कार्य क्षेत्र बाहिरका मागहरु छन्। संघीय सरकारले उक्त माग पुरा गर्नुपर्छ,’ मन्त्री बोहराले भने।
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस