लोप भएको सात दशकपछि भारत फर्कियो चीता
एजेन्सी: देशबाट लोप भएको सात दशकपछि आठ नामिबियन चीता भारतको जंगलमा छाडिएको छ। भारतमा यस प्रजातिलाई फैलाउने महत्त्वाकाङ्क्षी परियोजना अन्तरगत यी आठ चीता अफ्रिकी मुलुक नामिबियाबाट ल्याइएका हुन्।
भारतीय अधिकारीहरूका अनुसार यो परियोजना अन्तरगत विश्वमा पहिलो पटक एक महादेशका जनावरलाई अर्को महाद्वीपीय स्थानान्तरण गरिएको हो। पाँच पोथी र तीन भाले चीतालाई नामिबियाको राजधानी विन्डहोकको उत्तरस्थित गेम पार्कबाट भारत ल्याउन बोइङ ७४७ चार्टर्ड गरिएको थियो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा ती जनावरलाई नयाँ दिल्लीबाट ३२० किमी दक्षिणमा रहेको ‘कुनो राष्ट्रिय निकुञ्ज’लाई हस्तान्तरण गरिएको थियो। प्रशस्त शिकार र घाँसे मैदान भएकाले उक्त चीताका लागि उक्त निकुञ्ज छानिएको बताइन्छ।
‘आज चीता भारतको माटोमा पुन फर्किएको छ। हामीलाई यस प्रयासलाई असफल हुन दिने छुट छैन,’ मोदीले भिडियो सम्बोधनमा भने। दुईदेखि साढे पाँच वर्ष उमेरका आठै वटा चीतालाई स्याटेलाइट कलर लगाइएको छ। सुरुमा निकुञ्जको खुला वन क्षेत्रमा छाड्नुअघि करिब एक महिना बन्द भागमा क्वारेन्टाइनमा राखिनेछ। केही आलोचकहरूले यी जनावरलाई भारतीय वासस्थानमा अनुकूलन हुन गा¥हो हुनसक्ने भन्दै सचेत गराएका छन्।
कुनै समय मध्य–पूर्व, मध्य एसिया र भारतमा पाइने यो जीव गम्भीर लोपोन्मुख उप–प्रजातिमा पर्छ। अहिले यो प्राकृतिक अवस्थामा इरान र केही अफ्रिकी मुलुकमा मात्र पाइन्छ,त्यो पनि निक्कै थोरै सङ्ख्यामा छन्। भारतमा सन् १९५२ मा यसलाई लोप भएको घोषणा गरिएको थियो। भारतमा चीतालाई ल्याउने प्रयासले सन् २०२० मा गति लिएको थियो।
त्यो वर्ष सर्वोच्च अदालतले अफ्रिकी चीतालाई प्रयोगको हिसाबमा ‘सावधानीपूर्वक छनौट गरिएको स्थान’मा भारतमा बसोबास गराउन सकिन्छ भन्ने निर्णय गरेको थियो। हालका आठ वटा चीताहरू नामिबियाको सरकारले भारतलाई अनुदानमा दिएका हुन्। दक्षिण अफ्रिकाबाट पनि थप चीता भारत स्थानान्तरणको लागि वार्ताहरू चलिरहेको बताइन्छ। पशु चिकित्सकहरूका अनुसार त्यहाँबाट १२ वटासम्म चीता भारत आउने सम्भावना छ।
भारतबाट चीता वासस्थानको क्षति र शिकारको कारणले लोप भएको थियो। भारतीय उपमहाद्वीपका एक राजा रामानुज प्रताप सिंह देवले सन् १९४० को दशकमा मात्र भारतमा बाँकी रहेका अन्तिम तीनवटा चीता मारेको विश्वास गरिन्छ।