सुदूर नेपाललाई विश्वसँग जोड्दै

धेरै मोटो वा धेरै दुब्लो हुनु स्वास्थ्यका लागि हानिकारक छ ? 

२०७९ भदौ २६, ०५:५० खबर संवाददाता

काठमाडौँ: अत्याधिक तौल हुनु वा ज्यादै पातलो हुनु दुवै स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यस्तोमा शरीरको तौललाई सन्तुलनमा राख्न नसके मान्छेको आयु समेत ४ वर्ष सम्म घट्न सक्ने एक नयाँ अनुसन्धानले देखाएको हो। 

२० लाख मानिसहरुमा गरिएको यस प्रकारको सबैभन्दा ठूलो अध्ययनमा अनुसन्धानकर्ताहरुले ४० वर्षपछि मानिसहरुले आफ्नो तौल सन्तुलित राख्न सकेमा उनीहरुमा रोग लाग्ने सम्भावना अत्यन्तै कम हुने बताएका छन्। तर तौल मापन गर्ने ‘बडी मास इन्डेक्स’, बीएमआइ कम वा बढी भएका मानिसहरुको जीवनआयु भने कम रहने जोखिम देखिएको रिपोर्टले जनाएको छ। 

बिएमआइ निकाल्न शरीरको तौललाई उचाइको स्क्वायरले भाग गर्नुपर्दछ। यस्तोमा स्वस्थ बिएमआइको रेन्ज १८.५ देखि २५ सम्म रहेको बताइएको छ। यही तरिका मार्फत चिकित्सकहरुले कुनैपनि व्यक्तिमा मोटोपना वा अन्य समस्या रहेको बारे सजिलै थाहा पाउन सक्ने हुँदा बिएमआइलाई धेरै उपयोगी मानिने गरिएको छ।  ‘ल्यान्सेट डायबिटिज एण्ड इन्डोक्राइनोलोजी’ मा प्रकाशित यस अध्ययनका अनुसार मोटोपना भएका महिला वा पुरुषको औसत आयु स्वस्थ बिएमआइ भएकाहरु भन्दा ४.२ वा ३.५ वर्ष छोटो हुने गर्दछ। तर यसले स्वस्थ समुहमा पर्ने सबैमा रोगको जोखिम सधैँ कम हुन्छ भन्ने चाहिँ नजनाउने विज्ञहरुको भनाइ छ। 

वास्तवमा अध्ययनकर्ताहरुले अधिकांश मृत्युका कारणहरुमा बिएमआइको लेभल असामान्य रहने गरेको पत्ता लगाएका हुन्। जसले ज्यादै धेरै वा कम दुवैलाई जनाउने बताइएको छ। यसरी २१ भन्दा कम बिएमआइ भएकाको तुलनात्मक रुपमा खराब स्वास्थ्यका कारण मृत्यु हुने गरेको पाइएको छ।

कतिपय विशेषज्ञहरुले चाहिँ मानिसको औसत आयु हिसाब गर्न बिएमआइ सहि तरिका हो वा होइन भन्नेबारे पनि मूल्याङ्कन गरिरहेका छन्। तर बिएमआइ अधिकांशका लागि सहज र आफ्नो शारीरिक स्थितिबारे थाहा पाउने उपयुक्त तरिका भएको धेरै वैज्ञानिकहरुको दाबी छ। वास्तवमा तौल नियन्त्रणमा राख्दा यसले मधुमेह जस्ता रोगमा प्रभावकारी सुधार ल्याउन सक्ने हुँदा सो सुधारले औसत आयुमा पनि प्रभाव पार्नेमा कुनै शंका गर्न नसकिने विज्ञहरुको भनाइ छ। -बीबीसी  

कमेन्ट लोड गर्नुस