मुलुककोपहिलो पूर्वाधार विकास बैंक सञ्चालन
मुलुकको पहिलो पूर्वाधार विकास बैंक बुधबारदेखि सञ्चालनमा आएको छ। खासगरी ठूला पूर्वाधार निर्माणमा लगानी गर्ने उद्देश्यले विशिष्कृत बैंकका रुपमा यो बैंक सञ्चालनमा आएको हो। बुधबार अर्थमन्त्री युवराज खतिवडाले बैंकको शुभारम्भ गरेका छन्। आर्थिक समृद्धिकालागि मुलुकमा ठूलो लगानी आवश्यक भएको समयमा पूर्वाधार विकास बैंक सञ्चालनमा आएकाले यो बैंकले पूर्वाधार निर्माणमा परिपुरकको भूमिका निर्वाह गर्नु पर्ने अर्थमन्त्री खतिवडाले बताए। कार्यक्रममा गभर्नर चिरञ्जीवी नेपालले पूर्वाधार विकास बैंकको स्थापनाले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए। सरकारको १० प्रतिशत लगानी रहेको यो बैंकमा वाणिज्य बैंक, बिमा कम्पनी र सर्वसाधारणको लगानी छ। ४० अर्ब रुपैयाँ अधिकृत पुँजी रहेको यो बैंकको जारी पुँजी २० अर्ब रुपैयाँ र चुक्ता पुँजी १२ अर्ब रुपैयाँ छ।