सरकार ‘सुँड’ पसारेर अघि बढ्न सक्दैन : अर्थमन्त्री खतिवडा
अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समय बैंकर र उद्योगीबीचको पाखुरा सुर्कासुर्की आफूलाई मन नपरेको बताएका छन्।
बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले ब्याजदरको विषयमा बैंकर र उद्योगीबीच पाखुरा सुर्कासुर्की चलिरहेको भन्दै यो विषय आफूलाई मन नपरेको बताएका हुन्। निजी क्षेत्रहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले यस विषयमा चासो दिनु पर्ने उनले बताए। मन्त्री खतिवडाले उद्योगी व्यवसायीले छलफल गरेर कहाँ हस्तक्षेप चाहिएको हो भन्ने कुरा खुलेर बताउनसमेत आग्रह गरे। कहाँ कसरी समाधान गर्ने भन्ने विषयमा महासंघले भन्नुपर्ने भन्दै सरकार ‘सुँड’ पसारेर भने अघि बढ्न नसक्ने उनले बताए। संस्थागत निक्षेपकर्ताहरुलाई पनि ब्याजदर धेरै नखोज्न उनको आग्रह छ। निक्षेपको ब्याजदर धेरै हुँदा कर्जाको पनि बढ्दै गएको भन्दै उनले यस्तो आग्रह गरेका हुन्। उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदर महंगो भएको भन्दै आवश्यक सरकारी हस्तक्षेपको माग गर्दै आएका छन्। ब्याजदरका कारण उद्योग–व्यवसाय सञ्चालन गर्न नै मुश्किल परेको भन्दै विराटनगरका व्यवसायीहरुको पहलमा केहि साता पहिले महासंघको टोलिले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत ध्यानाकर्षण गराएको थियो। राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट केहि विषय सम्वोधन भएको भन्दै उद्योगीहरु अहिले चुपचाप बसेका छन्।