सुदूरपश्चिममा १ वर्षमै जघन्य अपराधबाट १२० जना नाबालिग पीडित
वीरेन्द्र भट्ट, धनगढीः सुदूपश्चिम प्रदेशमा जघन्य अपराधका कूल तीन सय बढी मुद्दामा १२० जना नाबालिग पीडित भएको प्रहरी अभिलेख छ। गत आर्थिक वर्ष २०७८/७९ मा १८ वर्षमुनिका बालबालिका जघन्य अपराधबाट पीडित बनेको तथ्यांक छ। यसले प्रदेशभित्र विभिन्न जघन्य अपराधमा १८ वर्षमुनिका बालबालिका बढी पीडित भइरहेको विषयलाई पृष्टि गर्छ।
गम्भीर प्रकारका अपराध अन्तर्गत २ सय ८४ मुद्दा दर्ता भएकोमा १८ वर्ष मुनिका ८ जना पीडित बनेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्धका ४ सय २७ मुद्दा दर्ता भएकोमा १८ वर्ष मुनिका १ सय ४७ जना पीडित बनेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट संकलित तथ्यांकलाई एकीकृत गरी विभिन्न प्रकृतिका अपराधबाट पीडित र पीडकको संख्या सार्वजनिक गरेको हो। अपराधमा १८ वर्ष कम उमेर समुहका बालबालिका बढी पीडित बन्ने गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरिक्षक भोलाबहादुर रावलले बताए। ‘अपराधको ग्र्राफ घटाउने विषयमा प्रहरी सचेत छ। तर कम उमेरका व्यक्ति बलिया अर्थात दोब्बर उमेर समुहकाबाट पीडित बन्ने गरेको विषय नियन्त्रण गर्न चुनौती नै देखिन्छ’ उनले भने।
मानव बेचविखनका घटनामा १८ वर्ष मुनिका ६ जना, बालविवाहका ५, अवैध गर्भपतनमा एक, बालयौन दुराचारमा १२, अप्राकृतिक मैथुनमा एक जना पीडित भएको प्रहरी अभिलेख छ। त्यस्तै जबरजस्ती करणीमा १९, जबरजस्ती करणी उद्योगमा २९, चोरीमा तीन, ज्यानमार्ने उद्योगमा एक, आत्महत्या दुरुत्साहनमा तीन, गर्भ संरक्षणविरुद्धको कसुरमा एक, अपहरण तथा शरीर बन्धकमा एक र कर्तव्य ज्यानमा १४ जना किशोरकिशोरी पीडित छन्।
यस्तो समस्या सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरमा देखिएको छ। विभिन्न सामाजिक सञ्जालको प्रभावमा परेर पनि कम उमेर समुहकै बालबालिका अपराधमा फस्ने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशी बताउँछन्। ‘बलात्कार, लागुऔषध लगायतका अपराधमा कम उमेर समुहका किशोरकिशोरी बढी पीडित भएको देखिन्छ’ उनले भने, ‘कतिपय अवस्थामा सुरुमा सहमतीमा अनैतिक गतिविधि हुने, पछि कानुनी रुपमा त्यही विषय कानुन विपरीत ठहरिने भएका कारण पनि यस्ता विषयमा घरका अभिभावक आफ्ना नानीबाबुको विषयमा सचेत बन्नुपर्ने हुन्छ।’
प्रदेशभित्र लागुऔषध, अवैध शिशु, मदिरा सेवन, आर्थिक अभाव, लेनदेन, अशिक्षा, अन्धविश्वास लगायतका अपराधका प्रमुख कारण रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। गाउँले भाइबहिनी, जेठाजु÷बहुरानी, साली÷भेना, फुपु, धर्मपुत्री गरी छिटफुटका घटनामा आफन्त अभियुक्त रहने गरेको प्रहरी बताउँछन्।
जातीय छुवाछुत, बोक्सी प्रथा, भेदभाव तथा अपमानजन्य लगायतका कुरिती प्रदशेभित्र कायमै छ। प्रदेशभित्र एक वर्षको अवधिमा सामान्य अपराधका ७ सय ८० मुद्दा दर्ता भएको प्रहरी तथ्यांक छ।