सुदूर नेपाललाई विश्वसँग जोड्दै

चालु आर्थिक वर्षको ६ महिनामा २८ प्रतिशत मात्र बजेट खर्च

। फोटो स्रोत ।
२०७५ फाल्गुन २१, ०६:३० खबर संवाददाता

चालु आर्थिक वर्षको ६ महिनामा सरकारले कुल बजेटको एक तिहाइ भन्दा पनि कम बजेट खर्च गरेको छ। 
अर्थ मन्त्रालयले गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामा अर्थ मन्त्रालयले गत साउनदेखि पुस मसान्तसम्म ३ खर्ब ७५ अर्ब ८२ करोड रुपैयाँ मात्र खर्च भएको जानकारी दिएको हो । जुन कुल बजेटको २८.६ प्रतिशत हो। यसमा पनि पुँजीगत खर्च (विकास निर्माणमा हुने खर्च)को अवस्था अझै निराशाजनक रहेको छ । पुँजीगततर्फ ५५ अर्ब ५२ करोड ३ लाख अर्थात् १७.७ प्रतिशत र चालूतर्फ २ खर्ब ९६ अर्ब ५७ करोड ५९ लाख अर्थात ३५.१ प्रतिशत खर्च भएको छ। अर्थ मन्त्रालयले संघीय सरकारले गर्ने राजस्व संकलन २६.१ प्रतिशतले वृद्धि भएको जनाएके छ। आर्थिक वर्षको ६ महिनामा ४ खर्ब २ अर्ब ४५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। आर्थिक वर्षको पहिलो ६ महिनामा बजेट खर्चको अवस्था निराशाजनक रहे पनि सरकारले आर्थिक वर्षको अन्त्यसम्म ९१.२ प्रतिशत बजेट खर्च हुने दावी अनुमान गरेको छ। चालु आर्थिक वर्षमा ११ खर्ब ९९ अर्ब १५ करोड खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ। जसमा पुँजीगत तर्फको खर्च ८४.५ प्रतिशत खर्च हुने अनुमान सरकारको छ। सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित रहेको जिकिर गरेको छ। रेमिट्यान्समा ३०.२ प्रतिशतले वृद्धि भई ६ महिनामा ४ खर्ब ४३ अर्ब ३६ करोड पुगेको अर्थ मन्त्रालयले जनाएको छ। यस अवधिमा कुल वस्तु निर्यात १०.३ प्रतिशतले वृद्धि भएको छ भने कुल आयात ३०.५ प्रतिशतले वृद्धि भएको छ। ब्यापार घाटा ३२.१ प्रतिशतले बढेर ६ खर्ब ७८ अर्ब ५३ करोड पुगेको छ । देश भित्रने र बाहिरिने रकम (सोधनान्तर) को स्थिति ६३ अर्ब ६८ करोड घाटामा रहेको अर्थ मन्त्रालयले जनाएको छ। अहिले नेपालमा कुल विदेशी विनिमय सञ्चिती १० खर्ब ५८ अर्ब २० करोड रहेको छ, जुन ८.९ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयातका लागि पर्याप्त हुने अर्थ मन्त्रालयले जनाएको छ। अर्थतन्त्रका यी सूचकका बाबजुद सरकारले आर्थिक वृद्धिदर भने लक्ष्यअनुसार नै हुने दावी गरेको छ।

कमेन्ट लोड गर्नुस