सुदूरपश्चिमबाट इतिहास बनाएका दिवंगतहरुको शालिक धनगढीका चोकचोकमा राख्न छलफल
धनगढीः सुदूरपश्चिममा जन्मेर तथा सुदूरपश्चिमलाई कर्मथलो बनाएर इतिहास रच्न सफल दिवंगतहरुको नामबाट धनगढीका चोकहरुको नामाकरण गर्ने विषयमा उपमहानगरपालिकाले छलफल चलाएको छ।
राजनीति, शिक्षा, संस्कृति, पहिचान, कला, साहित्य लोक संस्कृति लगायत क्षेत्रको नेतृत्व गरेर इतिहास कायम गरेका व्यक्तित्वहरुको सम्झनामा धनगढीका चोक र सडकहरुको नामाकरण गर्ने विषयमा शुक्रवार उपमहानगरपालिकाले नागरिक अगुवाहरुसँग छलफल गरेको हो। धनगढीका चोक तथा सडकहरुको मनपरी नाम राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै अब वीर अमरहरुको नामबाट नामाकरण गरेर धनगढीलाई नमुना सहरको रुपमा विकास गर्न मेयर गोपाल हमालले छलफल चलाएका हुन्।
धनगढीलाई सम्वृद्ध सहरको रुपमा विकास गर्ने अठोटका साथ योगदान दिएका व्यक्तिहरुको नामबाट चोक तथा सडकको नामाकरण गर्ने र क्रमिक रुपमा शालिक निर्माण गर्ने विषयमा नागरिक अगुवाहरुसँग छलफल चलाएको मेयर हमालले बताए। ‘नागरिक समाजको एउटा अगुवा टीम बनाएर सबै धनगढीवासीले चोक तथा टोलमा नामाकरण गरिएको व्यक्तिको विषयमा अपनत्व गर्नेगरी त्यस्ता व्यक्तिको नाम समितिबाट आएको खण्डमा त्यस्तो कार्यका लागि नगरपालिकाको कार्यपालिका बैठकबाट पास गराएर आवश्यकताको आधारमा चोक तथा सडकको नामाकरण गरिनेछ’ उनले भने।
मेयर हमालले बुद्धीजीवी रामबहादुर शाहीले धनगढीमा डाक्टर केआइ सिंहको मुर्ति स्थापना गर्न दिएको सुझावबा आधारमाक अगुवासँग छलफल नै चलाएको बताएका छन्।
दिवंगत भएका व्यक्तिहरुको नाम र त्यसका लाग वृह्त अध्ययन गर्न सस्कृतिविद् एवं साहित्यकार पदराज जोशीको संयोजकत्वमा नागरिक अगुवा समिति गठन गर्ने निर्णय भएको छ। सदस्य सचिवको रुपमा कृपाराम उपाध्यायलाई चयन गरिएको छ। छलफलमा शिक्षाविद् प्रा डा हेमराज पन्तदेखि अर्थविद् शिवहरी मुडभरीले उपमहानगरको उक्त ऐतिहासिक कदमलाई तत्काल अघि बढाउनुपर्ने बताए।