बझाङका खेलकुदका अध्यक्ष भन्छन्ः ‘डनगिरि’ देखाएको होइन, आरोप निराधार हो
धनगढीः पुष्पलाल रोकायाले जिल्ला छनोट प्रतियोगिता भइरहेका बेला दादागिरी प्रदर्शन गरेको भन्दै आफूमाथि लगाइएको आरोप निराधार भएको बताएका छन्। जिल्ला खेलकुद विकास समिति बझाङका अध्यक्षसमेत रहेका उनले प्रतियोगिता भाड्ने पक्षले आफूमाथि झुटो आरोप लगाएको बताएका हुन्।
‘मैलैं उत्कृष्ट खेलाडी छनौट गर्न खोजेको थिए’, उनले दिनेशखबरसँग भने, ‘म राम्रो खेलाडीलाई छनोट गर्ने र अब्बल खेलाडी छनौट गर्ने पक्षमा थिए। तर, त्यस्तो गर्दा विवाद गराइयो। आफ्नो मान्छेलाई छनौट गर्नुपर्ने भन्दै विवाद गरेर प्रतियोगिता नै प्रभावित पारियो।’
आफूमाथि हातपातको प्रयाससमेत भएको उनले बताए। ६० केजी तौल अन्तर्गत खेलाडीको छनोट गर्ने क्रममा बुदोकैदोका प्रशिक्षक योगेन्द्र बोहराले विवाद गरेको उनको दाबी छ।
बुधबार ९औँ राष्टिय खेलकुद छनोट अन्तर्गत फुल कन्ट्याक्ट कराते छनोट खेलमा विवाद हुँदा झडप भएपछि खेलाडी छनोट प्रक्रिया रोकिएको थियो। अब आज जिल्ला खेलकुद समितिको बैठकले छनौट गर्न बाँकी रहेका तौल समूहको छनौट गर्ने बताइएको छ।
यसअघि योगेन्द्र बोहराको समूहले भने फूल कन्ट्याक्ट कराँते प्रतियोगिताको छनोटका क्रममा रोकाया आफैं निर्णायक बसेर मनपरी गरेको आरोप लगाएको थियो। टाइसेट बनाउँदा मनपरी गरेको, खेल सञ्चालनमा पनि सल्लाह नगरी दादागिरी देखाएको उनीहरुको आरोप थियो।