धनगढीमा निर्माण हुने फोहोरमैला प्रशोधन केन्द्रमा भारतको चाँसो
एसियाली विकास बैंक एडिविको ऋण सहयोगमा लागु क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत धनगढी उप–महानगरपालिकामा निर्माण हुने फोहोरमैला प्रशोधन केन्द्रमा भारतको चाँसो देखाएको छ। फोहोरमैला प्रशोधन केन्द्रका लागि उप–महानगरपालिकाले वडा नम्वर २ भारतीय सीमा नजिकको जग्गा प्रस्ताव गरेपछि त्यस्मा भारतले चाँसो देखाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले भारतको डिएम कार्यालयबाट फोहोरमैला प्रशोधन केन्द्रमा चाँसो राख्दै पत्र प्राप्त भएको जानकारी दिए।
भारतको डिएम कार्यालयले जिल्ला प्रशासन कार्यालय कैलालीलाई पत्र पठाउँदै धनगढीमा हुने फोहोरमैला प्रशोधन केन्द्रको बारेमा जानकारी मागेको छ। पत्रमा फोहोरमैला प्रशोधन केन्द्रको बारेमा सोधिएको छ भने त्यस्ले वरपरका समुदायमा वातावरणीय प्रभाव त पार्ने होईन भन्दै जिज्ञसा राखिएको छ। उत्त पत्र जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उप–महानगरपालिकालाई पठाएको छ। उप–महानगरपालिकाका मेयर नृप वहादुर ओडले पत्रमा फोहोरमैला प्रशोधन केन्द्र के कस्तो निर्माण भईरहेको हो भन्ने विषयमा जानकारी मागिएको बताए। उनले मागिएको जानकारी पठाईसकेको बताए।
धनगढीमा फोहोरमैला प्रशोधन केन्द्रका लागि उक्त जग्गा प्रस्ताव गरेपनि त्यस्मा स्थानीयले विरोध गर्दै आएका छन्। स्थानीयले उक्त स्थानमा केन्द्र बनाउन नदिने बताईरहेका छन् भने उप–महानगरपालिका भने सोही क्षेत्रमा केन्द्र बनाउने दावी गर्दै आएको छ। अहिले सम्म फोहोरमैला प्रशोधन केन्द्रका लागि जग्गा व्यवस्थापन नहुँदा धनगढीमा आयोजना अन्तरगतका अन्य योजनाको काम पनि अगाडी बढेको छैन्।